दमौली- आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।
व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्।
राना गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी थिइन्।
यसैगरी व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट अञ्जना थापाले उम्मेदवारी दर्ता गराएकी छन्।
व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी परेको छ। देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट सुशीला नेपालले उम्मेदवारी दर्ता गराएकी छन्।
कांग्रेसले सत्तारुढ दलसँग तीन स्थानीय तहमा गठबन्धन गर्दा उक्त स्थानीय तहको प्रमुख/उपप्रमुखमा महिलाले नेतृत्व गर्ने अवसर गुमाएका छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उम्मेदवारी परेको छ। कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उम्मेदवारी परेको छ।
कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उम्मेदवारी परेको छ। - रासस