बुधबार, जेठ ९, २०८१

वीरगन्‍जको नेतृत्वमा दलभन्दा व्यक्ति हाबी

गठबन्धन र एमालेको भिडन्तमा पूर्वमेयर गोपाल गिरिका छोरा गिरिश गिरी पनि राप्रपाबाट मेयरेको दौडमा तेस्रो शक्तिका रुपमा देखा परेका छन्। राजाको प्रत्यक्ष शासनकाल तथा पञ्चायतमा प्रमुख सरकारी अड्डा भएका वीरगन्‍जमा राप्रपाको पनि बलियो जनमत रहेको दाबी गरिएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- नेपालको मुख्य व्यापारिक नाका वीरगन्जमा अहिले मौसमी तापक्रमभन्दा चर्कोरुपमा तातिएको छ चुनावी माहो। २०४७ यता नेपाली कांग्रेस र २०६४ पछि कांग्रेसबाट मधेशी दलमा गएका महन्थ ठाकुर, शरतसिंह भण्डारी र कम्युनिस्ट राजनीतिबाट मधेश राजनीतिमा सरेका उपेन्द्र यादवको पार्टी वीरगन्ज महानगरपालिकामा बलियो देखिँदै आएको छ। यद्यपि अहिले संसदीय निर्वाचनदेखि स्थानीय निर्वाचनमा पार्टीभन्दा व्यक्ति हाबी हुँदै आएका छन्। एकै व्यक्तिले पार्टी परिवर्तन गरेर अर्को दलमा जाँदासमेत वीरगन्जको चुनावी परिणाम फरक पर्ने गरेका उदाहरणहरु पनि छन्। 

triton college

अहिले सतहमा देखिएका विजयकुमार सरावगी र राजेशमान सिंहबीचको प्रतिस्पर्धा दलगतभन्दा पनि व्यक्तिगत प्रतिस्पर्धाजस्तो देखिन थालेको छ। दुवै उम्मेदवारले मेयरको टिकट पाउन पार्टी परिवर्तन गरे। दुवैजना दोस्रोपटक मेयरमा भिड्दैछन्। दुवैजनाको दलले वीरगन्‍जमा विपक्षीसँग तालमेल गर्नुपरेको छ। 

व्यवसायी रहेका सरावगीले २०७४ मा राजनीति सुरु गर्नेबित्तिकै संघीय समाजवादी फोरमबाट टिकट पाएर मेयर जिते। दोहोर्‍याएर टिकट पाउनकै लागि गत फागुनमा उनी जसपा छाडेर केपी ओलीको हातबाट टीका लगाउँदै एमाले प्रवेश गरे। नेपाली कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका राजेशमान सिंह २०७४ मा महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीमा थिए। अहिले उपेन्द्र यादवको जनता समाजवादीबाट मेयर उठेका छन्।

गठबन्धन र एमालेको भिडन्तमा पूर्वमेयर गोपाल गिरिका छोरा गिरिश गिरी पनि राप्रपाबाट मेयरेको दौडमा तेस्रो शक्तिका रुपमा देखा परेका छन्। राजाको प्रत्यक्ष शासनकाल तथा पञ्चायतमा प्रमुख सरकारी अड्डा भएका वीरगन्‍जमा राप्रपाको पनि बलियो जनमत रहेको दाबी गरिएको छ। 

उपमेयरमा भने लोसपाले पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ। लोसपाले पर्साका सबै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेको छ। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका इम्तियाज आलमले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। 

corrent noodles
Metro Mart

अंकगणितमा गठबन्धन अगाडि

वीरगन्‍जमा गठबन्धनभित्रका कांग्रेस र जसपा बाराबरी शक्तिको रुपमा देखिएका छन्। २०७४ मा जसपाले मेयरसहित १२ वडाध्यक्ष जितेको थियो भने नेपाली कांग्रेसले उपमेयरसहित १० वटा वडाध्यक्ष जितेको थियो। ०७४ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा गठबन्धन अगाडि देखिन्छ।  माओवादीका रहवर अन्सारीले पाएको ८ हजार ३०५ र कांग्रेसका अजयकुमार द्विवेदीले पाएको १७ हजार १९७ मत जोड्दा २५ हजार ५ सय हुन आउँछ। जुन तत्कालीन विजेता विजय सरावगीले पाएको मतभन्दा ६ हजारले बढी हो। सरावगीले १९ हजार ३९३ मत प्राप्त गरेका थिए। 

यद्यपि वीरगन्‍जमा अहिले १६ हजार १४६ मतदाता थपिएका छन्। अघिल्लोपटक एक लाख ८ हजार ५०१ मतदाता रहेको वीरगन्जमा अहिले मतदाता संख्या एक लाख २४ हजार ६४७ पुगेको छ। थपिएका मतदाताको मत नै यसपटक निर्णायक मत हुनेछ। 

गठबन्धनका तर्फबाट हाल उम्मेद्वार बनाइएका जसपाका राजेशमान सिंहले २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) बाट १२ हजार १ सय ६५ मत ल्याएर तेस्रो भएका थिए। एमालेका बसरुद्वीन अन्सारी त्यतिबेला पाँचौ भएका थिए। मुस्लिम समुदायका अन्सारीलाई अहिले एमालेले विजय सरावगीलाई सघाउन राजी गराएको छ। पर्साको मुस्लिम समुदायमा पकड भएका अन्सारीले पाएको मत (८ हजार ६ सय ८८) जोड्दा भने एमालेले र गठबन्धनको बराबरी मतभार हुन आउँछ। 

२०५४ र ज्ञानेन्द्रको शासनमा बलियो देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन बहादुर सिंह ठकुरीले २०७४ को चुनावमा २८५ मत मात्र प्राप्त गरेका थिए। 

यस्ता छन् अन्य उम्मेदवार

वीरगन्जको मेयरमा ३० जना प्रतिस्पर्धामा छन्। सुरुमा गठबन्धनबाट वीरगन्‍जमा कांग्रेसले दाबी गरेको थियो। नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकांक्षी थिए। कांग्रेसले अन्तिम अवस्थामा मात्र वीरगन्‍ज छाडेको हो। यता एमालेबाट विजय सरावगीसँगै लोसपाको वीरगन्‍ज कमिटी अध्यक्ष ओमप्रकाश सर्राफ पनि मेयरको दौडमा थिए।

अन्तिम दिन नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार र नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि मेयरमा उम्मेदवारी परेको छ। यस्तै गरी स्वतन्त्रबाट प्रभात सिह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सन्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह र रोज मियाँ अन्सारीले पनि उम्मेदवारी दिएका छन्।

लोसपाबाट असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्राले स्वतन्त्रबाट उपमेयरमा मनोनयन दर्ता गरेकी छन्। मेयर र उपमेयरमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने माग राखेका महिला नेतृहरुले दुवै पदमा पुरुषले नै टिकट पाएपछि आक्रोशित भएर स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन्। यस्तै स्वतन्त्र हैसियतमा शालिक प्रसाद कानुले पनि उपमेयरमा मनोनयन दर्ता गरेका छन्।

पुरानै अनुहारको भिडन्त दोहोरियो : गणेश लाठ, विश्लेषक

२०४७ पछि वीरगन्जमा नेपाली कांग्रेस बलियो देखिन्छ। यद्यपि अघिल्लोपटक निर्वाचन हार्दा पनि कांग्रेसको मत मधेशी दलकै हाराहारीमा आएको छ। अघिल्लो स्थानीय निर्वाचनमा वीरगन्जमा मधेशी दल हाबी भयो। अहिले तिनै दलका मेयर एमाले प्रवेश गरेर अर्का मधेशी दलसँग भिड्दैछन्। 

यसरी हेर्दा पार्टीभन्दा पनि नाम चलेको नेताको भिडन्त बढी भएको मान्न सकिन्छ। सत्ता गठबन्धनले त तालमेल गरेकै थियो, पर्सामा विपक्षी एमालेले पनि लोसपासँग तालमेल गरेको छ। यसबाहेक साना दललाई मिलाउने प्रयास पनि भइरहेको होला। 

तिनको मत कसलाई जान्छ ऊ बलियो हुने हो। थपिएका नयाँ मतदातालाई कसले आकर्षित गर्न सक्छ त्यसमा भर पर्छ। वीरगन्ज मुलतः बसाइसराइँपछि बनेको व्यापारिक नगर भएकाले उम्मेदवारहरूको पृष्ठभूमि र समाजसँगको सम्बन्धले पनि वीरगन्जको स्थानीय निर्वाचनमा प्रभाव पार्दछ। 


प्रकाशित: Apr 27, 2022| 20:26 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...