काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामन्त्री गगनकुमार थापाले जवाफ फर्काएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका थापाले जवाफ फर्काएका हुन्।
ओलीले शालीन बोले समाचार हुने बताउँदै थापाले छाडा बोलेको कुरा नयाँ नभएको बताए। मंगलबार ओलीले कांग्रेसको घोषणापत्र ‘पागलहरुको प्रलाप’ भएको र एमालेलाई गाली गरेर एमालेकै घोषणाापत्रबाट चोरी गरिएको बताएका थिए।
ओलीलाई जवाफ फर्काउँदै थापाले भने, ‘मलाई हिजो एकजना साथीले फोन गरेर ओलीले छाडा बोले भन्नुभयो। मैले ओलीले सफा र शालिन बोलेको भए पो समाचार हुन्थ्यो। छाडा बोलेको कुरा नयाँ होइन भनेँ। आखिर मुखमा अंगार भएकाले कालै ओकल्ने हो। तर, ती साथीले हामीलाई पागल भनेको सुनाए।’
केपी ओलीले झुटलाई च्यालेन्ज गर्ने मान्छेलाई पागल भन्ने गरेको थापाले बताए। ‘केपी ओलीले क–कसलाई पागल भन्नुहुन्छ? हिजो सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभएको थियो। उहाँका गलत कुरामा च्यालेन्ज कसैले गर्यो भने उहाँले पागल भन्नुहुन्छ,’ थापाले भने, ‘प्याच्च बोलेर उखान मिसाएर हल हँसाएर घर गएर भात खाएर सुत्ने उहाँ मात्रै हो। हामी होइन। कन्टेन्टका बारेमा केही कुरा गरेको भए सिक्न सकिन्छ भन्ने थियो। तर, त्यस्तो होइन रहेछ। हामीले छापेर भ्याएका छैनौं, हाम्रै साथीहरुले पढ्न पाएका छैनन्। तर बूढाले राति उठेर पढ्न भ्याएछन्।’
उनले घोषणापत्रको सुरुवातमा नै खेर गएको पाँच वर्ष उल्लेख गरिएको र अघिल्लो सरकारको आलोचना गरेकाले ओलीलाई असह्य भएको बताए। ‘संकल्पपत्रको सुरुवातमै खेर गएको पाँच वर्ष शीर्षकमा हामीले अघिल्लो सरकारको आलोचना गरेका छौं। त्यहाँ उहाँको स्तुतीगान राख्ने कुरा पनि भएन। प्रसंशाको एकालाप सुन्ने बानी हुनुभएकाले उहाँले आलोचना सहन सक्नुभएन,’ उनले भने, ‘बूढाबा सनक्क सन्किँदै गर्दा शरीरलाई अप्ठ्यारो पर्न सक्छ।’
ओलीले लजिक नभई म्याजिक मन पराउने थापाले टिप्पणी गरे। ‘कन्टेन्टमा कमेन्ट गर्नुभयो कि, हाम्रा पनि केही कमजोरी भए कि भनेर सुन्दा त केही पनि रहेनछ। बरु हाम्रो घोषणापत्रमा केही पनि छैन भनिदिनुभएछ। ठिकै हो उहाँलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। हाम्रो संकल्पपत्रमा म्याजिक छैन, लजिक छ,’ उनले भने।
आफूलाई महामन्त्री लड्दै गर्दा पनि नारा चोरेको आरोप लगाएका ओलीले घोषणापत्रमा त्यही आरोप लगाएको भन्दै उनले बालकोट गएर ट्युसन पढाउनुपर्ने अवस्था सिर्जना भएको बताए। ‘म हिजो महाधिवेशनमा महामन्त्री लड्दै गर्दा समुन्नत नेपाल भन्ने कुरा चोर्यो भन्नुभएको थियो। हिजो पनि चोर्यो भन्नुभएछ। म बालकोट नै गएर ट्युसन पढाउनुपर्ने भएछ। तपाईको समृद्धिको आइडिया चोरिदेला भनेर चिन्ता नलिनुस्, कसैले चोर्दैन। तर एउटा कुरा बुझ्नुस् तपाईको समृद्धि र मेरो समुन्नतिमा फरक छ। तपाईंको समृद्धिमा अहंकारको भ्यू टावर छ। हाम्रो समुन्नतिमा भ्यूटावरबाट तल देखिने मानिसहरुको समस्या छ, दुःख छ। त्यसको समाधान छ। हाम्रोमा कुनै घृणा छैन। देशप्रतिको प्रेम छ,’ थापाले भने।
उनले ओलीको समृद्धि र आफ्नो समुन्नतिको भेट कतै पनि नहुने बताउँदै केमेस्ट्रीको परीक्षा दिने मान्छेले फिजिक्सबाट चिट नचोर्ने बताए। ‘तपाईको समृद्धि र मेरो समुन्नतिको भेट कतै हुँदैन। तपाई समृद्धिको भ्यू वाटरमै बस्नुस्, हामी समुन्नतिको भुइँमै बस्छौं,’ थापाले भने।