शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • विप्लव नेकपा पनि चुनावमा, गठबन्धनलाई ‌'अपराधी'को संज्ञा! [२०७९-१-१३]

विप्लव नेकपा पनि चुनावमा, गठबन्धनलाई ‌'अपराधी'को संज्ञा! [२०७९-१-१३]

वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गराएका १ लाख ४७ हजारभन्दा बढीको विवरण निर्वाचन आयोगमा प्राप्त भएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

triton college

•निर्वाचन बहिष्कार पनि नगर्ने र भाग पनि नलिने निर्णय गरेको विप्लव नेकपा पनि होमियो चुनावमा, स्थानीय तहमा स्वतन्त्रका नाममा पर्‍यो उम्मेदवारी। विप्लव पनि चुनावमा

•आफूखुशी दिएको उम्मेदवारी हटाउन पहल भइरहेको देव गुरुङको दाबी, प्रतिगमनकारी एमालेलाई रोक्न यथास्थितिवादी कांग्रेससँग तालमेल गर्नुपरेको तर्क। तालमेल पनि, आरोप पनि

•नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको ओलीको आरोप, फाटोवादी र चोइटोवादी नेकपा एसको घोषणापत्रमा तुक नभएको तर्क। ओलीका आरोप

•वैशाखका ९ दिनमा २२ अर्ब रुपैयाँले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, एक सातामा नै ४ अर्बले घट्यो विदेशी मुद्राको सञ्चिति। घटेको घट्यै सञ्चिति 

Metro Mart
vianet

•इटालीका कप्तान जर्जियो केलिनीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा, जुन १ मा इटाली र अर्जेन्टिनाको खेलप्रति उत्सुक रहेको भनाइ। केलिनीको सन्यास घोषणा

अब समाचार विस्तारमा

उम्मेदवारको विवरण प्राप्त हुने क्रम जारी

वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गराएका १ लाख ४७ हजारभन्दा बढीको विवरण निर्वाचन आयोगमा  प्राप्त भएको छ।

निर्वाचन आयोगमा १ लाख ४७ हजार २७४ जना उम्मेदवारको विवरण प्राप्त भएको आयोगले जानकारी दिएको हो। यद्यपि यो पूर्ण विवरण नभएको र विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेको आयोगले बताएको छ। 

आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको थियो। 

देशभरमा ७५३ वटा स्थानीय तहको प्रमुखका लागि ३ हजार ४३० जनाको उम्मेदवारी परेको छ। प्रमुखमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको हो।

विप्लव नेकपा पनि चुनावमा  

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको छ। 

नेकपाका केन्द्रीय सदस्यदेखि स्थानीय नेता–कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ले जानकारी दिए। उनका अनुसार यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोल्पाका ६ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ। 

‘अन्य स्थानीय तहमा पनि उम्मेदवारी दिने कुरा थियो, तर साथीहरुले जाँगर गर्नुभएन,’ बाँठाले भने, ‘पार्टीका मान्छे मात्र होइन, देशभक्त र एमसीसी विरोधी व्यक्तिहरुले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ,’ उनले भने।

पार्टीका केन्द्रीय सदस्य चूडामणि वली ‘आदर्श’ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। रोल्पाकै परिवर्तन गाउँपालिका अध्यक्षमा विप्लव नेकपाका जिल्ला नेता लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन्। परिवर्तनका वडा नम्बर १ बाहेक सबै वडामा उम्मेदवारी दर्ता भएको छ। 

थबाङ गाउँपालिका अध्यक्षमा पनि विप्लव निकटकै अमित घर्ती र अजय घर्तीले उम्मेदवारी दिएका छन्। दर्जित रोका र महेश बुढामगरले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा रायबहादुर पुनमगरको उम्मेदवारी परेको छ। 

सुनिल स्मृति गाउँपालिका अध्यक्षमा नेकपाका कमल थापा र उपाध्यक्षमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपेश विष्टले उम्मेदवारी दिएका छन्। 

लुंग्री गाउँपालिका अध्यक्षमा विप्लव नेकपाका भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया विकले उम्मेदवारी दिएका छन्। 

रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नेकपाका नेता पुस्तमन घर्तीमगरलाई नेकपा एमाले र नेपाली कांग्रेसले समेत सहयोग गर्ने सहमति भएको भएको छ। सुनछहरीमा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री ‘सञ्जीवकुमार’ अध्यक्ष हुने गरी तीन पार्टीबीच गठबन्धन गर्ने सहमति भएको थियो। 

तर सहमतिपछि सञ्जीवकुमारको मतदाता नामावलीमा नामै नभेटिएपछि पुस्तमन घर्तीलाई अध्यक्षमा अघि सारिएको नेकपा स्रोतले जानकारी दिएको छ। 

कांग्रेसको घोषणापत्र झुटको पुलिन्दा : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको आरोप लगाएका छन्।  

मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्। 

पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए। गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै काँग्रेसको सकिएको भान भएको उनको भनाइ छ। 

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए ।  गठबन्धनलाई कुहिएको लौरोको संज्ञा दिदै आसन्न स्थानीय निर्वाचनबाट कुहिएको ढोड भाचिने उनले चुनौति दिएका छन्। 

यता चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र मात्र भएको ओलीको तर्क छ। उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउदै हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी समेत गर्न भ्याए । 

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने षड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने बताए । उनले आफ्ना कार्यकर्तालाई निवार्चनमा उत्तेजक नबन्न पनि दिर्नेशन दिएका छन ।

उम्मेदवारी फिर्ताको प्रयास

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।  

सत्तारुढ दलहरुबीचको सहमति विपरित पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भईरहेको बताएका हुन्।  प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्कसमेत गरेका छन्। 

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए । उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको उनको भनाई  छ । 

भरतपुर गठबन्धनबाट  बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ। जसपाले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरिएको जनाएको छ।

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काम गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो। 

साथै भरतपुरका २९ वटै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएको र बैठकहरुमा पनि नबोलाइएको भन्दै गठबन्धनबाट बाहिरिएको बताएको छ।

विरक्तिए कांग्रेसका गुरु

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका  छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने योजना बनाएको उनको भनाइ छ। 

'सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ,' घिमिरेले सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्, '

घिमिरे कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश १ सभापतिमा उद्धव थापासँग दुई मतले पराजित भएका थिए।

घिमिरेले स्थानीय तहमा टिकट वितरणमा अन्यायपूर्ण व्यवहार भएकाले यस्तो घोषणा गरेको निकटस्थहरूसँग बताउने गरेका छन्। कांग्रेस नेताहरूले भने उनलाई घोषणा फिर्ता लिन आग्रह गरिरहेका  छन्। 

सिर्जनालाई प्रधानमन्त्रीपत्नीको शुभकामना

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छन्। 

काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गर्दै जितको शुभकामना दिएकी हुन्। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन्।  

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन्। 

मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन्। 

घटेको घट्यै निक्षेप

वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप झन् घट्न थालेको छ। वैशाखको ९ दिनमा बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। 

वैशाखको पहिलो साता वाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप घटेको छ। दोस्रो हप्ता १० अर्ब रुपैयाँले निक्षेप घटेको एसोसिएसनले जानकारी दिएको छ। 

त्यसैगरी, सोही अवधिमा ३ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको छ। चालू आर्थिक वर्षको बैशाख ९ गतेसम्ममा कुल निक्षेप १ सय ६६ अर्बले वृद्धि भएको छ। 

यस अवधिमा ऋण ४ सय ७३ भने अर्बले बढेको छ। निक्षेपको तुलनामा अझै कर्जा १ सय ८४ दशमलव ९३ प्रतिशतले बढी हो। पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ।  

किमले आणविक शक्ति बलियो बनाउने

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो आणविक शक्तिलाई अधिकतम बलियो बनाउन जारी राख्ने बताएका छन्।

कोरियाली जनसेनाको स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै नेता किम जोङ उनले यस्तो घोषणा गरेका हुन्। 

'हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि निरन्तर कदमहरु चाल्नेछौँ,' किमलाई उद्धृत गर्दै उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ। 

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियार पनि प्रदर्शन गरिएको थियो। 

परेडमा हालै परीक्षण गरिएको ह्वासोङ-१७ क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको बीबीसीले जनाएको छ। गत मार्च महिनामा उत्तर कोरियाले ह्वासोङ १७ को सफल परीक्षण गरेको दाबी गरेको थियो। यद्यपि दक्षिण कोरियाली सैन्य नेतृत्वले भने उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको सफलतामा प्रश्न उठाउने गरेको छ।

केलिनीको सन्यास घोषणा

इटाली फुटबल टिमका कप्तान जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। 

आगामी जुन १ मा युरोपियन च्याम्पियन इटाली तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाको खेलपछि उनले संन्यास लिने बताएका हुन्।

सोमबार राति सिरीʻएʼ मा युभेन्टसले ससुलोमाथि २–१ को जितसँगै खेलपछि आफूले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिने  उनले  घोषणा गरेका हुन्। 

ʻराष्ट्रिय टोलीलाई वेम्ब्लीमा बिदाइ गर्नेछु। अर्जेन्टिनासँगको उत्सुक खेलका साथ राष्ट्रिय टोलीलाई गुडबाई भन्न पाउनु राम्रो हुनेछ। यो खेल राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ,’ केलिनीले भनेका छन्।

केलिनिको कप्तानीमा इटालीले सन् २०२० को युरो कप जितेको थियो। युरोपको च्याम्पियन बने पनि उनले आफ्नो टिमलाई कतारमा हुने फिफा विश्वकप २०२२ मा भने छनोट गराउन असफल रहे। 

सन् २००४ मा इटालीको राष्ट्रिय टिममा डेब्यु गरेका उनले इटालीका लागि ११६ खेल खेलेका छन्। 

प्रकाशित: Apr 26, 2022| 21:10 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।