काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा बताएका छन्।
मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीको पुलिन्दामात्र भएको टिप्पणी गरेका हुन्।
उनले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोपसमेत लगाए। अध्यक्ष ओलीले २०६२–०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए। उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए। उनले नेपाली कांग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए। उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको तर्क गरे। अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए। उनले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गरे।
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्रमात्रै भएको दाबी गरे। चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो। माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाए।
अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए। उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे।
अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने षड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे। उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनी अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।