काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता गरिएको छ। निर्वाचन आयोगले आइतबार बिहान १० देखि ५ र सोमबार बिहान १० देखि ५ बजेसम्मका लागि देशभर रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तोकेको थियो।
देशभरका निर्वाचन कार्यालयहरुमा भएको भएको मनोनयन दर्ताको विवरण निर्वाचन आयोगले अध्यावधि गरिरहेको छ। आयोगका अनुसार सोमबार साँझ ८:३० बजेसम्म देशभर ८२ हजार २१० उम्मेदवारको विवरण प्रविष्ट भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार साढे ८ बजेसम्म महानगर, उपमहानगर र नगर प्रमुखका लागि तीन हजार ३४३ र गाउँपालिका अध्यक्षका लागि दुई हजार ४९७ जनाले मनोनयन दर्ता गराएको विवरण अद्यावधिक गरिएको छ।
यस्तै नगर उपप्रमुखका लागि एक हजार १४४५ जनाले मनोनयन गराएका छन्। गाउँपालिका उपाध्यक्षका लागि भने एक हजार ७२६ जनाले मनोनयन गराएका छन्।
यस्तै २० हजार १७६ जनाले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। यद्यपि पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट तथ्यांक र विवरण प्रवेशको काम जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने आयोगले जानकारी गराएको छ।
वैशाख ३० मा हुने स्थानीय तहको देशभरका ७५३ स्थानीय तहका लागि ३५ हजारभन्दा बढी जनप्रतिनिधिहरु छनोट हुनेछन्।