काठमाडौं- महानगरजस्तै ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। विगतका निर्वाचनमा सम्बन्धित दल/व्यक्तिले प्राप्त गरेको विवरणका आधारमा गरिएको अनुमानअनुसार मुख्य प्रतिस्पर्धीका रूपमा उनीहरूलाई लिइएको हो।
इटहरी उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेल (कांग्रेस) पौडेल र एमाले यमकुमार सुब्बाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
धरान उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका किशोर राई र एमालेकी मञ्जु भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।
जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका लालकिशोर साहले एमालेका शिवशंकर साहको सामना गर्ने अनुमान छ।
हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका मीनाकुमारी लामा (नेकपा एस) एमालेका अनन्त पौडेलबीच स्पर्धा हुने भएको छ।
कलैया उपमहानगरपालिकामा सत्ता गठबन्धनका राजेश राय (कांग्रेस) र एमालेको विनोद शाहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
जितपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा एकीकृत नेकपा माओवादीका राजन पौडेल र एमालेका सरस्वती चौधरीबीच स्पर्धा हुने देखिएको छ।
बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) र एमालेका नरुलाल चौधरीबीच स्पर्धा हुँदै छ।
तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका गेहेन्द्र गिरीसँग एमालेका टीकाराम खड्का भिड्दै छन्।
नेपालगञ्ज उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र एमालेको तर्फबाट मेयरमा पशुपति दयाल मिश्र उम्मेदवार छन्।
धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका नृपबहादुर वड र एमालेबाट मेयरमा रणबहादुर चन्द प्रतिस्पर्धा गर्दैछन्। धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि मुख्य प्रतिस्पर्धी मानिएका छन्।