काठमाडौं– सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार तोडफोड भएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुबीच टिकटको विषयमा विवाद भएपछि झडप भएको हो।
झडपपछि कार्यकर्ताहरूले कार्यालयमा तोडफोड गरेका छन्। झडप भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। त्यसक्रममा प्रहरीले दुई सेल अश्रु ग्याससमेत प्रहार गरेको बताइएको छ। नियमित गस्तीमा रहेको सेनासमेत घटनास्थलमा पुगेको छ।
त्यहाँ माओवादी केन्द्रबाट टिकट नपाएपछि निवर्तमान मेयर अमानसिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसक्रममा कार्यकर्ताहरुबीच झडप भएको हो। मेयर तामाङले आफूलाई पार्टी अध्यक्ष प्रचण्डले टिकट दिँदा पनि सभामुख अग्निप्रसाद सापकोटाको दबाबमा वञ्चित गराइएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।