पेरिस (सीएनएन)- फ्रान्सको राष्ट्रपतिका लागि भएको निर्वाचनमा इम्यानुअल म्याक्रोन पुनः विजयी भएका छन्। हाल राष्ट्रपतिमा पदासीन रहेका राष्ट्रपति आइतबार भएको मतदानबाट अर्को कार्यकालका लागि पुनः विजयी भएका हुन्।
म्याक्रोनले ५८.५ प्रतिशत मत प्राप्त गरेर विजयी भए। योसँगै दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने पछिल्लो २० वर्षयताकै पहिलो व्यक्ति समेत म्याक्रोन बनेका छन्।
राष्ट्रपतिका लागि १० उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। त्यसमा ली पेन उनको निकटतम प्रतिस्पर्धी बनेकी थिइन्। यसपछि दोस्रो चरणमा आइतबार मतदान भएको थियो। पहिलो चरणको मतदान भने अप्रिल १० मा भएको थियो।
यसअघि सन् २०१७ मा भएको निर्वाचनबाट पनि म्याक्रोन विजयी भएका थिए।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले म्याक्रोनलाई बधाई दिएका छन्। लोकतान्त्रिक विधिबाट दोस्रो पटक राष्ट्रपतिमा विजयी भएको भन्दै देउवाले बधाई दिएका हुन्। देउवाको बधाई ट्विटमा आपसी सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।