काठमाडौं– कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन्। सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तासहित राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे। आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरूका लागि सबै वडाहरूमा ज्येष्ठ नागरिक वाटिका, बालबालिकाहरूलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल वाटिका र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
उनले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने बताए। राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ।