काठमाडौं– काभ्रे जिल्लामा नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिँदा महिला सहभागिता शून्य देखिएको छ।
शुक्रबार साँझसम्म काभ्रेमा गठबन्धनबीच भागबन्डा मिलेको थिएन। त्यसपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्षहरूको बैठकले काभ्रे जिल्लाका १३ तहमा उम्मेदवार टुंगो लगायो।
१३ तहका प्रमुख र उपप्रमुखमा एक जना पनि महिला नेता समेटिएका छैनन्। विगतमा कांग्रेसले महिला नेतालाई उपप्रमुख उठाएको भए पनि यसपटक १३ जना उम्मेदवारमध्ये एकजना पनि महिला उम्मेदवार चयन गरेको छैन।
जिल्लाको व्यापारिक नगर बनेपामा कांग्रेसका शान्तिरत्न शाक्यले प्रमुखको टिकट पाएका छन्। साथै कांग्रेसले पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नामोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्षमा दिनेश लामा, तेमाल गाउँपालिका अध्यक्षमा चन्द्र लामा, बेथान्चोक गाउँपालिका अध्यक्षमा भगवान अधिकारीलाई उम्मेदवार उठाएको छ।
मण्डन देउपुर र धुलिखेल नगरपालिकामा एकीकृत समाजवादी तथा महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षको टिकट पाएका छन्। उनीहरूले भने महिला उम्मेदवार उठाएका छन्।
जिल्लामा महिला उम्मेदवार चयन नगरेकोमा कांग्रेसका महिला कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। उनीहरूले नेतृत्वलाई भेटेर यसबारे ध्यानाकर्षण गराउने कार्यक्रम राखेका छन्।