काठमाडौं- नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफू बेलाबेला विवादमा आइरहने भएपनि त्यसले कुनै असर नगर्ने बताएका छन्। माइतीघर आफूले बनाएको दाबी गर्दै उनले त्यहाँ प्रदर्शन गर्ने सबै आफ्ना मतदाता भएकाले आफूले गठबन्धनका उम्मेदवार भन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका हुन्।
सोमबार एमालेका तर्फबाट काठमाडौं मेयरमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले यस्तो बताएका हन्।
‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो। माओवादीको ७ हजार। सबै खस्यो भने पनि ५२ हजार होला। समाजवादीले पनि गठबन्धनलाई मत दिए ५५–५८ हजार होला। काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म। त्यसैले गेम इज ओभर। हामी चुनाव जित्छौँ,' स्थापितले भने।
‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ? मलाई यस्ता विवादले केही असर गर्दैन। मैले बनाएको माइतीघरमा नाराबाजी गर्नेहरू सबै मेरा मतदाता हुन्,' स्थापितको भनाइ छ।