चितवन- चितवनमा ठुला दलले आज उम्मेद्धारी दर्ता गर्दैछन्। बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो। आज नेकपा एमालेका उम्मेदवार र गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्दैछन्।
दलहरुलाई एक बजे अगाडी नै सक्नेगरी मनोनयन दर्ताका लागि आग्रह गरिएको निर्वाचनज अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।
मनोनयनका लागि गठबन्धन दलका उम्मेदवारले बाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम रहेको छ। त्यस्तै एमाले पनि एक बजे अगाडी नै मनोनयन दर्ता गर्ने तयारीमा छ।
गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्नेछन् भने एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिने तयारी छ। भरतपुरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ।
राप्रपाले भने अझैसम्म पनि उपमेयरको उम्मेदवार टुंगो लगाइसकेको छैन। त्यस्तै कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्व सांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन्। आइतबार भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरेका छन्।