मनाङ- आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन्। अधिकांश नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ। एमालेको तर्फबाट उपाध्यक्षमा भने उम्मेदवारी दर्ता भएको छैन।
एमालेको तर्फबाट चामे गाउँपालिका–३ को वडाध्यक्षसहित सदस्यहरूको समेत उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय चामेले जनाएको छ। कार्यालयका अनुसार १, २, ४ र ५ नम्बर वडाका भने बाँकी रहेको एमाले जिल्ला कमिटी मनाङले जनाएको छ।
नासों गाउँपालिकाका गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भएको छ। नासोंमा गठबन्धनबाट विभिन्न २८ पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नेपाली कांग्रेसबाट मनबहादुर गुरुङले नासों गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ भने गठबन्धनमार्फत नेकपा (माओवादी केन्द्र)बाट अर्विन गुरुङले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।
नासों गाउँपालिकाको नौ वडामध्ये ६ वडामा उम्मेदवारी दर्ता भएको छ भने अन्य वडामा बाँकी रहेको निर्वाचन अधिकृत तारादत्त बडुले जानकारी दिए। वडा नं २ र ४ मा विभिन्न पदमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी परेको छ भने अन्यमा उम्मेदवारी हुन बाँकी रहेको छ। नासोंको पाँच वडामा नेपाली कांग्रेसको भागमा परेको जनाइएको छ।
त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाका ९ नम्बर वडा बाहेक सबैमा एमाले र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केदारनाथ उपाध्यायले जानकारी दिनुभयो। मनाङ ङिस्याङको अध्यक्ष पदमा एमालेबाट कान्छा घले, उपाध्यक्ष पदमा स्वतन्त्रबाट छिरिङ गुरुङले उम्मेदवारी दर्ता भएको उपाध्यायले बताए।
एमालेबाट ङिस्याङ–१को वडाध्यक्षमा मिङ्मार गुरुङ, खुल्ला सदस्यहरूमा कर्म छिरिङ गुरुङ र नर्बु छिरिङ गुरुङ र महिला सदस्यमा सुमी छिरिङ लमु गुरुङको उम्मेदवारी परेको छ। एमालेबाट ङिस्याङ–२को वडा अध्यक्षमा कर्म गुरुङ र महिला सदस्यमा टसी अन्जीन घलेको उम्मेदवारी परेको छ। एमालेबाट ङिस्याङ–३ को वडाध्यक्षमा कृष्ण लामा, खुला सदस्यहरुमा सोनाम घले र रविन गुरुङ, महिला सदस्यमा लाक्पा पल्मु लामाले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेबाट ङिस्याङ–४ को वडाध्यक्षमा कमल गुरुङ, खुल्ला सदस्यहरुमा कर्मा छोम्पेल गुरुङ र सुदीप छोम्पेल गुरुङ, महिला सदस्यमा छिउदा गुरुङ र दलित महिला सदस्यमा पूर्णकुमारी विश्वकर्माको उम्मेदवारी परेको छ।
एमालेबाट ६ नम्बर वडामा अध्यक्षसहित सबै पदमा मनोनयन दर्ता भएको छ। वडाध्यक्षमा सोनाम गुरुङ, सदस्यहरुमा राजु गुरुङ र कर्मा वाङ्गेल, महिला सदस्यमा सानु गुरुङ र दलित महिला सदस्यमा अरुणा विकले मनोनयन दर्ता गराउनुभएको छ। एमालेको तर्फबाट ङिस्याङ–८को वडाध्यक्षमा पेम्बा गुरुङ, सदस्यहरूमा नानीराम तामाङ र दीपक गुरुङ र महिला सदस्यमा मेङ्सु गुरुङको उम्मेदवारी परेको छ। ङिस्याङ–३ मा स्वतन्त्रबाट अध्यक्षसहित सबै पदमा उम्मेदवारी मनोनयन भएको छ।
नार्पाभूमि गाउँपालिकाको अध्यक्षका उम्मेदवार ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनुपर्ने भएकाले छलफल जारी रहेको एमाले मनाङले जनाइएको छ। एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले नार्पाभूमिमा अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्षबारे आन्तरिक छलफल भइरहेको बताए। 'नार्पाभूमिमा योग्य साथीहरू हुनुहुन्छ। उम्मेदवारको टुङ्गो लागिसकेको छ। तर, कसलाई कुन पदमा उठाउनेबारे छलफल भइरहेको छ,' उनले भने।
नेपाली कांग्रेस मनाङले पनि उम्मेदवार टुङ्गो लगाएर मनोनयनको तयारीमा रहेको कांग्रेस मनाङका सचिव महेन्द्र घलेले जानकारी दिए। उनका अनुसार नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन गरी मनोनयन आजै दर्ता भएको छ। 'अन्य पालिकाको उम्मेदवारको टुङ्गो लगाएका छौँ, अन्य स्थानीय तहमा भने भोलि उम्मेदवारी दर्ता गर्ने तयारीमा छौँ,' घलेले भने।
कांग्रेसले मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा ओङ्मा घले गुरुङ र उपाध्यक्षमा छिमी दोर्जे गुरुङलाई उठाउने निर्णय गरेको उनले बताए। चामे गाउँपालिकाको अध्यक्षमा छिरिङ ध्वर्जे लामा र उपाध्यक्षमा मिङ्मा ढोमा लामालाई उम्मेदवार बनाउने भएको सचिव घलेले बताए। त्यसैगरी नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कोन्जो तेन्जिङ लामालाई अध्यक्ष बनाउने निर्णय गरेको छ। कांग्रेस उम्मेदवारले सोमबार मनोनयन दर्ता गराउनेछन्।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै एमाले उम्मेदवारले जितेका थिए। चामेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। नार्पाभूमिमा कांग्रेस र स्वतन्त्र उम्मेदवार दुवैजना निर्विरोध भएका थिए।
यस निर्वाचनमा पनि निर्विरोध हुनसक्ने आँकलन गरिएको छ। गत स्थानीय चुनावमा यहाँ एमालेले उम्मेदवारी दिएको थिएन। नासों गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण भएको पुष्पराज आचार्यले बताउनुभयो। मनाङमा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।