काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि आर्थिक रुपमा पारदर्शीता कायम गरेको, भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग नगर्ने संकल्प भएका व्यक्तिलाई बनाउने प्रतिवद्धता गरेको छ।
आइतबार जारी भएको घोषणापत्रमा सेवा प्रवाह र सुशासनका दृष्टिले उदाहरणीय र नमुना स्थानीय सरकार बनाउने प्रण लिएको, नागरिक र समुदायसँगको सहकार्य र सेवा प्रवाहबाट सिक्ने तथा शिक्षा ग्रहण गर्ने सकारात्मक र सृजनशील सोच भएका व्यक्तिलाई जनप्रतिनिधि बनाउने संकल्प गरेको हो। यस्तै कुनै पनि निर्णय गर्दा व्यक्तिगत स्वार्थ र सम्बन्धबाट प्रभावित नहुने र समाजको तल्लो तहको हित र अधिकारलाई विशेष प्राथमिकता दिएको, सही निर्णय क्षमता र दृढ इच्छाशक्ति, उच्च नैतिक चरित्र भएको, प्रविधिमैत्री, नागरिकमैत्री, अधिकारमैत्री र सञ्चार माध्यममैत्री, समाज रुपान्तरणको अठोट भएको व्यक्तिहरुलाई जनप्रतिनिधि बनाइने घोषणा पत्रमा उल्लेख छ।
त्यसैगरी जनप्रतिनिधि हुन जनताको आवाज सुन्ने, संवाद गर्ने, वास्तविकता बुझ्ने र निर्णय लिने पद्धति भएको र ‘मेयर साब’ होइन, नागरिकको सेवकको रूपमा रहने र काम गर्ने स्वभाव भएकाहरुलाई जनप्रतिनिधि बनाउने प्रतिवद्धता कांग्रेसको छ।