काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएको छ। स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले आइतबार जारी गरेको घोषणापत्र (संकल्प) मा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख छ।
एमालेले वर्तमान सरकार र पाँच दलिय गठबन्धनलाई ‘परमादेशी’को आरोप लगाउँदै आएको छ। सर्वोच्च अदालतले गत असार २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। त्यसपछि एमालेले वर्तमान सरकारलाई परमादेशबाट बनेको सरकार भनेर आलोचना गर्दै आएको छ।
तर, कांग्रेसले एमालेलाई अदालतको आदेशबाट जन्मिएको पार्टी भएको बताएको छ। कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनुभएको छ। तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो।’
सर्वोच्च अदालतकै फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र जन्मिएको भन्दै कांग्रेसले एमालेको वैधानिक हैसियत माथि प्रश्न उठाए ओली के जवाफ देलान् भनेर प्रश्न समेत गरेको छ। ‘नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला?’ कांग्रेसले भनेको छ, ‘यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन।’