काठमाडौं– भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकको स्टल नम्बर ८० मा अन्य कम्पनीका एक सय स्टलभन्दा फरक दृश्य देखिन्छ। अन्य स्टलमा जस्तो ८० नम्बर स्टरमा न कुनै वस्तु बिक्रीका लागि राखिएका छन्, न त कुनै ब्रान्डको प्रचार हुन्छ नै। स्टलअघि ठूलो ब्यानर झुन्डिएको छ। जहाँ लेखिएको छ, ‘दृष्टिविहीन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिका लागि सूचना प्रविधिको प्रयोग प्रदर्शनी र साक्षात्कार।’ स्टलमा दृष्टिविहीनहरु खटिइरहेका छन्। र, तिनैमध्येका दुई हुन्– जलसा सापकोटा र जलदीप सापकोटा।
जन्मजात दृष्टिविहिन जलसा र जलदीप स्टलमा आउनेहरुलाई ब्रिफिङ गर्न व्यस्त देखिन्छन्। दिदी जलसा भिटिरलाई दृष्टिविहिनले कसरी मोबाइल फोन प्रयोग गर्छन् भन्ने जानकारी दिन व्यस्त देखिन्छिन्। उनको भाइ जलदीप दृष्टिविहिनले कसरी फुटबल खेल्न सक्छन् भनेर बुझाइरहेका छन्।
त्यही क्रममा जलसाले भनिरहेकी थिइन्, ‘यो हाम्रो भाइब्रेन्ट स्टीक हो। काठमाडौंका अधिकांश सडकमा खाल्डाखुल्डी छन्। घर बाहिर निस्कनका लागि सधै आभिभावकको सहारा लिन सम्भव हुँदैन। यसको प्रयोगले छेउछाउको ढल, पोल, मान्छे, खाल्डो र कुकुर बाटो वरपर केहि भए भाइब्रेसन मार्फत बुझ्न मद्दत गर्छ।’
जलसाको छेउमै बसेका जलदेव हातमा सामान्य देखिने फुटबललाई हल्लाउँदै भन्छन्, ‘तपार्इँलाई लाग्न सक्छ दृष्टिविहिनले कसरी फुटबल खेल्न सक्छन्? ल हेर्नुस है, यसमा छिनछिन बज्छ यसकै आधारमा हामीले थाहा पाउँछौं फुटबल कतातर्फ छ।’ उनले हातको फुटबललाई हल्लाएर भुइँमा राखे अनि जोडले किक हाने। अनि भने, ‘सुन्नु भयो? हामीले प्रयोग गर्ने फुटबलभित्र राखिएको सामग्रीबाट आएको आवाज। हो हामी यही आवजको सहायतामा खेल्ने गर्छौं।’
मोबाइल र कम्प्युटरको प्रयोग अहिले सामान्य भइसकेको छ। तर, त्यही प्रविधि दृष्टिविहिनले प्रयोग गर्दा धेरैले जिज्ञासा गर्छन्, ‘कसरी प्रयोग गर्न सकेको होला?’ हो, यो प्रश्नको सरल जवाफ खोज्न पुग्नुपर्छ–क्यान इन्फोटेकको स्टल नम्बर–८०।
स्टलमै कविताको हरफ कोर्दै जलदीपले आफूलाई मन पर्ने छन्द कविता ल्यापटपमा निकाले र सुनाउन भ्याए। १७ वर्षीय जलदीप कक्षा–१२ मा मानविकी अध्ययन गर्छन्। उनको फुर्सदको समय कविता पढ्न र लेख्न व्यतित हुन्छ। उनी आफ्नो दैनिकी कसैको सहयोग विना नै गर्ने गर्छन्। र, उनको दैनिकीलाई प्रविधिको प्रयोगले सहज बनाएको छ।
कक्षा सातदेखि नै उनले मोबाइल फोनको प्रयोग गर्न थालेका हुन्। हिँडडुल गर्न, पढ्न र खेल्नका लागि प्रविधिको प्रयोगले सहज बनाएको उनी सुनाउँछन्। उनकी दिदी जलसाले भने कक्षा–१२ पछि मात्रै मोबाइल फोन प्रयोग गर्न पाइन्। उनले विद्यार्थी जीवनमा धेरै समय ब्रेल बुकको प्रयोग गरिन्। ब्रेल बुक मोटो र सीमित हुने हुँदा सबैसँग बाँडेर पढ्नु पर्थ्यो। तर, अहिले मोबाइल र ल्यापटपको प्रयोगले यो झन्झट कम गरिदिएको छ। २३ वर्षीया जलसाले स्नातक तह पूरा गरेकी छन्। समाजशास्त्रमा स्नातक गरेकी उनलाई भविष्यमा अन्तर्राष्ट्रिय नीति तथा सम्बन्धबारे अध्ययन गर्न मन छ । उनको अर्काे रुची हो– राजनीति। आफ्ना सपना पूरा गर्न प्रविधिले सहयोग गरेको उनको अनुभव छ।
बुटबल स्थायी घर भएका सापकोटा परिवार कीर्तिपुरमा बस्दै आएको छ। उनीहरुको बुवा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी संकायका प्रमुख हुन्। ‘हामीसँग पहुँच छ। प्रविधिमा आधारित सामग्री किन्न परिवारले धेरथोर सहयोग गरेको छ। अवसर पनि धेरै छ। अहिले नै हेर्नुस् न हामी यस्ता कार्यक्रमा सहभागि हुन सकेका छौं,’ जलदीप भन्छन, ‘मेरो फोटोग्राफीको परीक्षा चल्दैछ। मैले फोटो हेर्न नसकुँला। तर, क्यामेरा चलाउने प्रविधि र प्रक्रियासँग नजिक हुन पाएको छु। यस्ता साना–साना कुराले पनि हाम्रो आत्मविश्वास बलियो बनाउँछ ।’
भाइको कुरामा समर्थन गर्दै जसलाले भनिन्, ‘तर, धेरै जना दृष्टिविहिन सामान्य प्रविधिको पहुँच बाहिर छन्। कति अभिभावकलाई थाहा हँुदैन। सामान्य प्रविधिको प्रयोगबाट धेरै दृष्टिविहिनले कति काम सहजै गर्न सकिन्छ भन्ने थाहा हुँदैन। सोही कारण हामीले यो स्टल सञ्चालन गरिरहेका छौ ।’
प्रविधि, अवसर र सरल जीवनयापनका कुरा गरिरहँदा आफूहरुले भोग्ने समस्या भने उनीहरुले बिर्सिएनन्। ‘भुस्याहा कुकुरको समस्याबारे सबैलाई छ। तर, हामी दृष्टिविहिनलाई यो समस्या अझ बढी पर्छ। सडक छेउ हिँडे गाडीले हान्ने डर हुन्छ, फुटपाथ हिँडे पिल्लर र भुस्याहा कुकुरले हैरान बनाउँछ,’ जलदीपले भने।
अरुले गरेका सामान्य क्रियाकलाप आफूहरुले गर्दा अनौठो मान्नु स्वभाविक भएपनि ‘बिचरा’ भन्दा अप्ठ्यारो लाग्ने उनीहरुको सुनाउँछन्। ‘एक्लै हिँडेको? यस्तो भएछ है? हिँडडुल गर्न सडक देखि यात्रामा भेटिनेहरुको दयाले असहज बनाउँछ,’ जलदीप भन्छन्।
त्यसो त जलसाको अनुभव पनि उस्तै छ। ‘फिल्म हल जाँदा दिइने अडियो डिस्क्रिप्सन होस् वा बाटोमा हिँड्दाको लोकेसन अडियो नै किन नहोस्। यस्तै भवनमा लिफ्ट हुन्छ। तर, हाम्रो पहुँच योग्य छैनन्। तर, केही सुधार भइरहेको छ। त्यसमै खुसी मान्नु पर्यो,’ जलसा भन्छिन्।
उनीहरुले स्टलमा आएका भिजिटरलाई जानकारी दिइरहेकै बेला भेटिए–डा. विरेन्द्रराज पोखरेल । उनी अपाङ्गता अधिकारका लागि क्रियाशील एक संस्थका संस्थापक समेत हुन्। नेपालमा दृष्टिविहिनहरुका लागि सूचना प्रविधिको प्रयोगका विषयमा विद्यावारिधि गरेका पोखरेल भन्छन्, ‘सूचना प्रविधिमा दृष्टिविहिनको पहुँचले समावेशी समाजमा बाँच्न सहयोग मिल्छ। इकमर्स, इब्याङकिङ, इलाइब्रेरी देखि दृष्टिबिहिन महिलाहरुको सुरक्षाका लागि समेत एप र सफट्वेयरको व्यवस्था छ। बि माइ आइज, ट्याप ट्याप–सी लगायतका एप्स छन्। जसले लोकेसन थाहा हुन्छ र खतराको संकेत दिन्छ। त्यसमार्फत प्रहरीलाई जानकारी मिल्छ। यस्तै प्रकोपका समयमा उद्धारका लागि एपको व्यवस्था छ। त्यसका लागि हामीले स्टल मार्फत जानकारी दिइरहेका छौ ।’
स्टलमा प्रविधिकाबारे जानकारी दिइरहेका पोखरेलले २७ वर्षको उमेरमा अकस्मात दुवैै आँखाको ज्योति गुमाएका थिए। दृष्टिविहिन भएपछि उनले भोग्न परेका समस्या धेरै छन्। २० वर्षअघि जपानमा प्रविधिसँग साक्षात्कार भएपछि सहज भएको अनुभव सुनाउँछन्। उनले नेपालमा पनि दृष्टिविहिनका लागि विभिन्न प्रविधि भित्र्याउन सहयोग गरेका छन्।
‘अहिले हाम्रो संस्था मार्फत हामीले दृष्टिविहिनका लागि विभिन्न एप्स बनाउँदै छौं। अनलाइन लाइब्रेरी बनाएका छौं। सबै दृष्टिविहिनको हातहातमा मोबाइल फोन पुर्याउन पहल गरिरहेको छु। मैले व्यक्तिगत प्रयासबाट सकेसम्म धेरै गर्ने कोसिस गरिरहेको छु,’ उनी भन्छन्, ‘कपी राइट फ्याक्टसमा दृष्टिविहिनहरुले सूचना प्रविधिको प्रयोगमा आफैं पुस्तक बनाउन पाउँदैनन्। म्यानसक ट्रिटि नेपालले अनुमोदन गरेको छैन। अनुमोदन भए हामीले आफ्ना पुस्तक आफैं बनाउन सक्छौं ।’
पोखरेल र सापकोटा दिदीभाइ बदलिँदो समाजमा दृष्टिबिहिनलाई हेर्ने दृष्टिकोण र अवसरहरु फराकिलो हुँदै गएकोमा आशावादी छन् । उनीहरु भन्छन्, ‘सूचना प्रविधिको पहुँच सबै ठाँउमा छैन । तर प्रविधिको प्रयोगबाट हामीले गर्न नसक्ने काम केहि छ र? प्रविधिबारे सानो जानकारीले दृष्टिविहिन दिदिभाइको आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्न सक्छ । त्यसैले आज हामी यहाँ छौं ।’