सेतै कपाल फुलेका वृद्ध र किशोरी एकअर्कालाई गम्भीरतापूर्वक हेरिरहेका छन्। उनीहरुको आँखाको सान्निध्यले धेरैथोक भनिरहेको छ। यस्तो लाग्छ, पुरानो पुस्तासँग नयाँ पुस्ता केही सुन्न खोजिरहेको छ। ठाडा कान र अनुहारको भावले पनि त्यस्तै संकेत गरिरहेछ।
अनि यो पेन्टिङ मुन्तिर लेखिएको छ, ‘जिज्ञासु स्रोता। हजुरबुबाको कुरा ध्यान दिएर सुनिरहेकी नातिनी हेर्दा उनी कति जिज्ञासु छिन् भन्ने देखाउँछ। एउटा अभिभावकका लागि नातिनातिनासँग गफ गर्नु सधैँ शान्त क्षण त हुँदै हो।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा वैशाख ३ गतेदेखि ५ गतेसम्म मानवशास्त्री रोहितकुमार नेपालीका पेन्टिङ प्रदर्शन भए। सोही अवसरमा आफ्नो जीवन भोगाइबारे उनले लेखेको किताब ‘अ जर्नी अफ इनोसेन्स–एन इन्साइडर आउटसाइडर प्रस्पेक्टिभ’ पनि सार्वजनिक भयो।
प्रदर्शनका क्रममा उनले कोरेका चित्रहरु घोरिएर हेरेपछि छेउमै उभिइरहेका ७३ वर्षिया रोहितसँग हामी गफियौं। रङ र चित्रप्रतिको आफ्नो मोह उनले खुलेर सुनाए।
000
रोहित बाल्यकालदेखि नै वाटर पेन्टिङ गर्थे। मुम्बइमा अध्ययन गर्न जाँदा पेन्टिङ पनि उनको अनिवार्य विषयभित्रै पर्थ्यो। सन् १९७२ तिर जब उनले बनारसमा स्नातकोत्तर अध्ययन पूरा गरे, त्यसपछि नेपाल आएर ओइल पेन्टिङ सुरु गरे।