बुटवल- स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटमा नपरेपछि रुपन्देहीका कांग्रेस नेता मातृकाप्रसाद यादवले पार्टी परित्याग गरेका छन्। उम्मेदवार छनौट र सिफारिसमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान सभापति यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उनले घोषणा गरेका छन्।
यादव कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकामा नगर प्रमुखका लागि आकांक्षी थिए। सिद्धार्थनगरबाट मेयरका लागि ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिएकोमा एक जनाको मात्रै नाम सिफारिस भएकाले एकलौटी भएको बताउँदै पार्टी छाडेको बताए। २०७४ सालको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा उम्मेद्वार भएर यादव पराजीत भएका थिए।
कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय सभापति पदमा पनि पराजित भएका हुन्। संस्थापन इतर समूहका यादवले राजनीतिबाट धोका पाएको बताएका छन्।