एजेन्सी-अन्तराष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आर्सनलले चेल्सीमाथी जित हात पार्न सफल भएको छ । निर्धारित समयको खेलमा दुबै टोलीले १-१ को बराबरी खेले पछि आर्सनलले पेनाल्टीमा ६-५ ले जितेको हो ।
चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी पनि पाएको थियो ।
तर सो पेनाल्टीमा एल्भारो मोराटाको प्रहार पिटर चेकले बचाऊ गरे । दोस्रो हाफको इन्जुरी समयमा आर्सनल खेलमा फर्केको हो । रिस नेल्सनको पासमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै खेललाई अन्तिम समयमा पेनाल्टीतर्फ धकेलेका थिए ।
आर्सनल र चेल्सीका ५-५ खेलाडी सबैले आफ्नो पेनाल्टी गोलमा परिणत गरे । त्यसपछि खेल सडन-डेथमा पुगेको थियो । चेल्सीका रुबेन लफ्टस-चिकको पेनाल्टी चेकले रोकेपछि आर्सनलका एलेक्स इवोबिले आफ्नो प्रहार परिणत गर्दै आर्सनललाई जित दिलाए ।
११ अगष्टमा प्रिमियर लिग सिजन सुरु हुन अघि आर्सनलले शनिबार लाजियोसँग खेल्ने छ, । चेल्सीले लियोनसँग अगष्ट ८ मा आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४