काठमाडौं- सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएपनि कुन दलले कुन पालिका पाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ। खासगरी नेपाली कांग्रेसको केन्द्रीय कमिटीका केही सदस्य र तल्लो तहले महानगरमा अन्य कुनै पनि दललाई समर्थन गर्न नसकिने बताउँदै आएका छन्।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने विषयमा खास विवाद छैन। तर भरतपुर र पोखरा महानगरका विषयमा भने कांग्रेसका स्थानीय नेताले अन्य दललाई समर्थन गर्न नसकिने बताउँदै आएका छन्। सभापति देउवा भने भरतपुर माओवादीलाई र पोखरा नेकपा एसलाई दिने तयारीमा छन्।
तर उक्त तयारीप्रति पार्टीमा विरोधका स्वर चुलिएपछि गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले छोड्नुपर्ने महानगर रहेको जिल्लाका नेताहरूलाई बोलाएर सहमतिको वातावरण तयार गर्न प्रयास गरिरहेका छन्। मंगलबार चितवन र कास्कीका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले छलफल गरेका हुन्।
देउवाले मंगलबार बिहान चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहितका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री देउवाले गठबन्धनले तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुपर्ने र त्यसमा पार्टीको स्थानीय तहले सहयोग गर्नुपर्ने बताएका थिए।
'उहाँले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरा भएन। मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग राखेँ। उहाँले तपाईंहरुको निर्णय बदल्नुपर्यो भन्नुयो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन भन्नुभयो। मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ,' चितवन सभापति खनालले भने।
कांग्रेस चितवन जिल्ला कार्यसमितिले भरतपुर महानगरमा आफ्नै दलका उम्मेदवार अघि सार्ने निर्णय गरी उम्मेदवारहरुको नामावली पनि सिफारिस गरिसकेको छ।
उनले स्थानीय नेता तथा कार्यकर्ताको प्रेसर थेग्न आफूले नसक्नेसमेत देउवालाई जानकारी गराएका छन्। आफूले देउवालाई चितवनबाट अर्को दललाई मेयरमा समर्थन गर्ने निर्णय गर्न नसक्ने समेत बताएका थिए। 'माथिल्लो निकायले निर्णय गरेपछि तल्लो निकायको स्वतः खारेज हुन्छ, तपाईंहरुले यहीँबाट जे निर्णय गर्ने हो गर्नुहोस्, चितवनबाट हुँदैन भनिदिएँ,' देउवासँग भएको छलफलमा आफूले भनेको कुरा स्मरण गर्दै सभापति खनालले भने, 'केन्द्रीय समितिको निर्णय मान्ने मेरो दायित्व हो मैले मान्छु। तर जिल्ला सभापतिको रुपमा एक्लै जिल्लामा थाम्न सक्ने अवस्था छैन भनेर भनेँ। बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो। मैले सक्ने अवस्था छैन भनेर बिदा भएँ।'
भरतपुरमा तालमेल गरी प्रचण्डकी छोरी रेणु दाहाललाई उम्मेदवार बनाउने तयारीमा माओवादी पार्टी छ। यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि दाहाल विजयी भएकी थिइन्। चितवन-१९ को मतगणनामा रेणुलाई एमाले उम्मेदवार देवी ज्ञवालीले पछि पारेपछि मतपत्र च्यातिएको थियो। यसपछि उक्त वडामा पुनः मतदान भएको थियो। यसपछि मात्र रेणु विजयी बनेकी थिइन्।
सभापति देउवाले मंगलबारै कास्कीका कांग्रेस नेताहरूलाई समेत बालुवाटारमै बोलाएर छलफल गरेका छन्। गठबन्धनको बाध्यता बुझ्न आग्रह गर्दै उनले पोखरामा एकीकृत समाजवादीलाई छोड्नुपर्ने भएकाले त्यसमा सहयोग गर्न पोखरेली नेताहरूलाई आग्रह गरेका थिए।
छलफलमा सहभागी कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूले तथ्य, तथ्यांक र तर्क दिएर नेताहरूलाई पोखरा कांग्रेसले पाउनुपर्ने दाबी गरेको बताए।
'पोखरामा हामीसँग ६०/६५ हजार मत छ। त्यहाँ गठबन्धनले जित्नुपर्छ भन्ने हो भने कांग्रेसलाई अरु पार्टीले समर्थन गर्नुपर्छ,' देउवासँग भेटेपछि थापाले भने, 'नेताहरूले गठबन्धनको बैठकमा हाम्रो कुरालाई राखेर माधव नेपाललाई पनि कन्भिन्स गर्नुहुन्छ भन्ने लागेको छ। कता कता आशंका चाहिँ भएको छ। ६०/६५ हजार मत लगेर अरूलाई खन्याएर जिताउन सकिँदैन।'
पोखरा महानगरको विषयमा कुरा नमिल्दा सत्ता गठबन्धनको बैठक सोमबार स्थगित भएको थियो। कास्की कांग्रेस हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै समाजवादीलाई गठबन्धनबाट बाहिर राख्ने निष्कर्षमा पुगेको बताइसकेको छ।
आफूहरूलाई पोखरा महानगरपालिका नपाउनेमा आशंका भए पनि नेताहरूले स्थानीय नेता तथा कार्यकर्ताको भावना बुझेर कांग्रेस आफैँले राख्ने निर्णय गर्ने विश्वास व्यक्त गरे। कांग्रेसले पोखरामा मेयरको उम्मेदवार पाए गठबन्धन विजयी हुने कुरा आफूहरूले प्रचण्डलाई पनि राखेको उनले बताए।
पोखरा महानगरबाट प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी उपमेयरका लागि सिफारिस भएकी छन्। प्रचण्डका छोरा स्व. छोरा प्रकाश दाहाल र त्रिपाठीबीच विवाह भएको थियो। त्रिपाठीपछि प्रकाशले बिना मगरसँग विवाह गरेका थिए। विना र सिर्जनाका तर्फबाट एकएक छोरा छन्।