काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलले तालमेलका नाममा आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गरे मान्य नहुने चेतावनी दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्।
अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला-जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन्।
'सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नु भएको छ भन्ने रिर्पोट पनि आइरहेको छ। हामी अपमान सहनका लागि जन्मेका होइनौं। अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौं। हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ। र, हामीले आफ्नो शक्तिको अति मूल्यांकन पनि गर्नु हुँदैन,' अध्यक्ष नेपालले थपे, 'तर सात महिनाको अवधिमा हामीले जसरी जिल्लाजिल्लामा, पालिकापालिकामा गएका छौ, वडावडामा गएका छौं। जनताले ठूलो आशाका साथ हामीलाई हेरिरहेका छन्।’
नेकपा एसमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको उनको दाबी छ। अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले तालमेलका लागि प्रयास जारी रहेको समेत जानकारी दिए। गठबन्धन पनि सत्ताका पाँचदलभित्रैबाट हुने उनको भनाइ छ। ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौं। आज पनि हाम्रो त्यसै शिलशिलामा वार्ता भइरहेको छ। महानगर र उपमहानगरपालिकामा कसरी सिटको तालमेल मिलाउने, अनि सबै पालिका र वडामा सिटको तालमेल कसरी मिलाउने? अहिले विभिन्न पार्टीमा मानिसहरु उम्मेदवार बन्नका लागि तानातान गरिरहेका छन्। चुनावमा पराजित हुने स्थितिमा भएकाहरुले पनि जति सहमति हुन्छ, त्यही सहमतिको आधारमा हामी जानेछौं,' नेपालले थपे, 'हामीले सहमति गरिसकेका छौं पाँच दलबाहेक अन्य दलहरुसँग तालमेल नगर्ने। पाँच दलभित्र नै गर्ने। जतिमा सहमति भएको छ। सहमतीको आधारमा। सहमती हुन सकेन भने मित्रतापूर्ण प्रतिस्पर्धाको आधारमा जाने भन्ने पनि हामीले टुंगो लगाएका छौं। यस सन्दर्भमा आज पनि हामी फेरी छलफल गर्छौं।'
तालमेल मिलाउन कतिपय स्थानमा गाह्रो भएको उनको भनाइ थियो। अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।