काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी काँपेको टिप्पणी गरेका छन्।
पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली पाँच दलीय गठबन्धनसँग डराएको टिप्पणी गरे।
पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्। ओली हतास भएका छन्। हतास अभिव्यक्ति दिइरहेका छन्। जस्ता तत्वसँग पनि हातेमालो गरिरहेका छन्।’
उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नभएर लोकतन्त्र जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि जिकिर गरे। ‘यो गठबन्धन सत्ताको लागि हैन, व्यवस्थाका लागि हो। यो कुरा बुझ्नुहोला। गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र होइन। यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउन, परिवर्तन बचाउन, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरणका लागि हो,’ पौडेलको दाबी थियो।
कार्यक्रममा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर आफूले केही नबिगारेको बताए। देउवाले भने, ‘अहिले गठबन्धनले गर्दा हामीले धेरै ठाउँमा भाग पाएका छौं। हामीले जित्ने राम्रो ठाउँमा भाग पाउँदैछौं। मैले के बिगारेँ? मैले के गल्ती गरेँ? तपाईंहरु त्यसै गाली गर्नुहुन्छ। अस्ति एमाले र माओवादी मिल्दा के भयोरु भोलि त्यो अवस्था नआओस् भनेर कसैन कसैसँग मिल्नैपर्यो। यसकारण कुनै हालतमा गठबन्धन टुट्नु हुँदैन।’