काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको समयमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन सरकारलाई प्रस्ताव गरेको छ। मौन अवधिमा मादक पदार्थ बिक्रीवितरण र सेवनमा पूर्ण रुपमा रोक लगाउनुपर्ने आयोगको प्रस्ताव छ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले मंगलबार आयोजना गरेको मिडियासँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरेर यस्तो प्रस्ताव गरिएको जानकारी दिए।
मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन पाइँदैन।
फरक प्रसंगमा प्रमुख आयुक्त थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताए। २०७४ सालको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधकारीको म्याद सकिने उनको प्रष्टोक्ति छ। म्याद सकिनु भन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ।
उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे। एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।