काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेश डेस्क स्थापना गरेको छ। कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार प्रदेश डेस्क स्थापना गरेका हुन्।
स्थानीय तहको निर्वाचनमा कांग्रेसको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा 'प्रदेश डेस्क' स्थापना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनले भने, 'सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी सभापतिज्यूलाई सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजक तोक्नु भएको छ।'
जसमा प्रदेश १ मा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना', लुम्बिनी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौरलाई संयोजकको जिम्मेवारी दिइएको छ।