काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले संसद्मा ५३ सिट दिलाएको बताएका छन्। तर, प्रचण्डले कम्युनिस्ट आन्दोलन विभाजन गर्न खोजेको आरोप ओलीले लगाए।
पार्टी कार्यक्रमका लागि सोमबार सोलुखुम्बु पुगेका ओलीले त्यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका साथीहरूले नमान्दा–नमान्दै पनि २०७४ को चुनावमा प्रचण्डसँग चुनावी तालमेल गरेको सम्झिए।
उनले भने, ‘प्रचण्ड सिद्धिन लागेका थिए, सिद्धिन लागेका प्रचण्डलाई ५३ सिट मैले दिलाएँ। पार्टीमा साथीहरूले त मानेका थिएनन्। तपाईं सर्प घरभित्र राख्दै हुनुहुन्छ, कतिखेर डस्छ भन्दै थिए। मलाई दाँत फुकाउन आउँछ चिन्ता नगर्नु भनेको थिएँ, साथीहरूले भन्दाभन्दै डसे।’
फरक प्रसंगमा ओलीले महँगोमा बिजुली किनेर नेपालीको ढाड भाँच्ने एकजना कर्मचारीलाई माओवादीले चुनावी प्रचारमा फोटो राखेर हिँडेको भन्दै व्यंग्य गरे। ओलीले भने, ‘कम्युनिस्टहरूले आफ्ना नेताको फोटो राख्छन्। कांग्रेसले बीपी, गणेशमान र हामीले पुष्पलाल, मनमोहन, मदन भण्डारीको फोटो छाप्छौं। उनीहरूले चाहिँ कुलमान घिसिङको फोटो छापेर हिँडेका छन्। ३८ रुपैयाँमा बिजुली किनेर ल्याएर नेपालीको ढाड भाँच्ने उज्यालो नेपालका अभियन्ता रे! प्रचण्डको सिद्धान्त व्यवहार, आचरण के रहेछ?’