नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनले साझा चुनाव चिन्हबाट उम्मेदवारी दिने सम्भावना नभएको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले साझा चुनाव चिन्हमा जाने कि भन्ने विषयमा छलफल भए पनि त्यस्तो सम्भावना नभएको स्पष्ट पारे। उनले भने, ‘सत्तापक्षीय दलहरूबीच देशव्यापी रुपमा गठबन्धन भए पनि साझा चुनाव चिन्हका लागि सहमति भएको छैन। चुनावी प्रक्रिया अघि बढिसकेकाले सम्भावना देखिँदैन।’
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको घोषणा गरिसकेका छन्। यद्यपि सिट बाँडफाँटबारे सहमति बन्न सकेको छैन। प्रचण्डले महानगर र उपमहानगरको भागबण्डा आज बेलुकीसम्ममा टुंगिने बताए।
प्रचण्डले भने, ‘म गठबन्धनको बैठकबाट आएको हुँ। साँझसम्म ६ वटा महानगर र ११ उपमहानगरमा टुंग्याउने तयारीमा छौं। महानगरको झण्डै टुंगिसकेको छ। हामी साँझसम्म महानगर र उपमहानगरको विषय टुंग्याएर भोलिदेखि नगरपालिका र गाउँपालिकाकाको विषयमा तलबाट आएको रिपोर्ट हेरेर टुंग्याउँछौं।’