काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले भरतपुर महानगरपालिका पाउनैपर्छ नभनेको बताएका छन्। देशभरका ६ वटा महानगरमध्ये माओवादीले कम्तिमा एउटा पाउनुपर्ने उनले बताए।
पार्टी मुख्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन आयोजना गरेका प्रचण्डले भने, ‘भरतपुर नभई हुँदैन भनेको छैन। रेणु नभई हुँदैन भन्ने अडान पनि होइन। ६ वटा महानगरमा एउटा माओवादीलाई पर्ला, काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’
भरतपुरमा ०७४ सालमा रेणु दाहालले जितेकोले त्यहाँ सजिलो हुने कुरामात्रै माओवादीले राख्ने गरेको उनले प्रस्ट्याए। भने, ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो। मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’
उनले महानगर र उपमहानगरको भागबण्डा आज बेलुकीसम्ममा टुंगिने पनि बताए। प्रचण्डले भने, ‘म गठबन्धनको बैठकबाट आएको हुँ। साँझसम्म ६ वटा महानगर र ११ उपमहानगरमा टुंग्याउने तयारीमा छौं। महानगरको झण्डै टुंगिसकेको छ। हामी साँझसम्म महानगर र उपमहानगरको विषय टुंग्याएर भोलिदेखि नगरपालिका र गाउँपालिकाकाको विषयमा तलबाट आएको रिपोर्ट हेरेर टुंग्याउँछौं।’