काठमाडौं– स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी सकिएको हो।
बेलुकासम्ममा सिट बाँडफाँडको टुंगो लगाउने गरी बैठक स्थगित भएको बताइएको छ। गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन्। तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड तयार गरिसकेको छ।
आजको बैठकले मूलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने छ। गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले हिजो त्यसबारे गृहकार्य गरेको थियो।