आइतबार, साउन ३१, २०८३

म्याग्दीमा उम्मेदवार छनोट गर्न गठबन्धनलाई सकस

गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

म्याग्दी- सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन्।

गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए। 

सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन्। 

बेनी नगरप्रमुखमा काँग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो। माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। 

माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताए। 'सहमतिको अन्तिम प्रयत्न अझै पनि छ', उनले भने, 'समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो।'

कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो-याउने घोषणा गरेको छ। कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताए। कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए। 

माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए। नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक/एक पालिकाको नेतृत्व दाबी गरेका थिए। 

अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ। माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ। 

गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ। पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन्।   रासस

प्रकाशित: Apr 18, 2022| 10:25 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...