काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने बताएका छन्। भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका हुन्। आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे।
आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए।
‘मैले जानेर दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन। भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन। भ्रष्टाचार राष्ट्रियतासँग जोडिएको कुरा हो। यो बढ्दै गयो। यस्तै गरी हामीले खबरदारी गरेनौँ भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाईदिन्छ,' सभामुख सापकोटाले भने, 'भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ। सोही अनुसारको कार्यक्रम बनाउनु भएको छ। त्यसलाई सात वटै प्रदेशमा लैजाने भन्नु भएको छ। त्यसमा मेरो पूर्ण रुपमा समर्थन हुन्छ। संघीय संसदको नेतृत्वको हिसावले, प्रतिनिधिसभाको सभामुखको हिसावले तपाईहरुलाई के सहयोग गर्नुपर्छ? म सधैं हाजिर हु। म ऐक्यबद्धता जनाउन चाहन्छु। किनभने अहिलेको दुनियाँकै समस्या पनि हो। र, नेपालको केही ठूलो गम्भीर समस्या छ भने भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई अहिले निर्मूल त भनि नहालौं। नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो राष्ट्रलाई सिध्याउँछ भन्ने कुरा फेरी दोहोर्याउन चाहन्छु।’
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रर्दशनी तीन दिनसम्म चल्नेछ। सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुनेगरी कार्टुन बनाउन पनि आग्रह गरे।