आइतबार, साउन ३१, २०८३

महानगर र उपमहानगरको सिट बाँडफाँट सोमबार

सत्ता गठबन्धनले भोलि सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने भएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– सत्ता गठबन्धनले भोलि सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने भएको छ।

आज  बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो। 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबारसम्ममा महानगर र उपमहानगरको उम्मेदवारीबारे टुंगो लाग्ने बताएका छन्। उनले भने, ‘महानगर र उपमहानगरको सिट बाँडफाँट र उम्मेदवारीको टुंगो भोलिसम्ममा लगाउने भन्ने समझदारी भएको छ। भोलि पुनः गठबन्धनको बैठक बस्छ र देशैभरि चुनावी तालमेलको अवस्थाबारेको प्रतिवेदनमाथि छलफल र समीक्षा हुन्छ। त्यसैको आधारमा तालमेलको तयारी अघि बढ्छ।’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन्। केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले पनि स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन्। 

यसैबीच, सत्ता गठबन्धन दलहरुले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ। समिति संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा बालुवाटारमा बैठक बसेको हो।

बैठकले देशभरका ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिका कसरी बाँडफाँड गर्ने भनेर प्रतिवेदन तयार गर्ने र गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाउने तयारी गरेको छ। सोही प्रतिवेदनका आधारमा भोलि सोमबार शीर्ष नेताहरूको बैठकले महानगर र उपमहानगरको बाँडफाँड टुंगो लगाउने तयारी छ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ। उम्मेदवारी मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन्। आकांक्षी धेरै हुँदा दलहरूलाई आन्तरिक व्यवस्थापनमा पनि सकस देखिएको छ।

प्रकाशित: Apr 17, 2022| 15:21 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...