काठमाडौं- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन्।
‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ। पहिलो प्राथमिकता हाम्रो हो। त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ। किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन्। यो कुरालाई ख्याल गर्नुस्,' नेपालको भनाइ छ, ' हामी यत्तिकै दावा गर्दैनौं। हामी जित्ने सुनिश्चित गर्नेगरी दावा गर्नेछौं।'
एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आबद्ध अन्य दलहरुलाई आग्रह समेत गरे।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगर्ने पनि बताए। तर एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनको तर्क छ।
अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति नभए सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए। सत्तारुढ दलहरुबीच स्थानीय तहको टिकट बाँडफाँडको विषयमा छलफल भइरहेको पनि उनको भनाइ छ।
अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरुको ध्यानाकर्षण गराए।