काठमाडौं– आसन्न स्थानीय निर्वाचनका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस काठमाडौं महानगर समिति बैठकमा गठबन्धनका विषयमा चिन्ता र आक्रोश व्यक्त भएको छ। आइतबार काठमाडौंमा आयोजित बैठकमा सहभागी अधिकां वक्ताले अप्राकृतिक ढंगमा गरिने गठबन्धनलाई आफूहरुले अस्विकार गर्ने समेत बताए।
‘स्थानीय निर्वाचनका सन्दर्भमा बैठक बोलाइएको थियो, सहभागीहरुले आ–आफ्ना मत राख्नुभयो’ नगर समिति सचिव सुसन वैद्यले नेपाल समयसँग भने, ‘वक्ताहरुले धेरैले कांग्रेसको संगठनको चिन्ता गरेको देखियो।’
बैठकमा बोलेका झण्डै तीन दर्जन सदस्यहरुले कांग्रेस त्यसै पनि गुट उपगुटमा विभाजित भएको र दलको आन्तिरिक जीवन कमजोर रहेका बेला अरु दलसँग गरिने गठबन्धनले कांग्रेसका प्रतिवद्ध सदस्यलाई पलायतिर लैजाने राय राखेका थिए।
‘हामीले काठमाडौंमा गबन्धनका नाउँमा अरुको दललाई भोट दिन सक्दैनौं भनेर क्लियर कुरा राखेका छौं’, बैठकमा सहभागी एक सदस्यले बताए, ‘जिते पनि हारे पनि सबै भोट रुखमा हाल्दा मात्र कांग्रेसको संगठन बलियो रहन्छ। प्रतिवद्ध कार्यकतालाई जोगाउन सकिन्छ।’