काठमाडौं- नेपाली कांग्रेसको शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन टुंगिएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले चुनावी तालमेलप्रति गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी कांग्रेसकै भएको बताएका हुन्। उनले भरतपुर महानगर छोड्नुपर्ने कुराको संकेत गर्दै भने, 'कांग्रेसको नेतृत्वमा अहिले गठबन्धनको सरकार छ। चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्वमा संयन्त्र बनेको छ। त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ। भरतपुरमा सभापतिले नै उपमेयर लड्ने बताइसक्नु भएको छ।'
बैठकमा कार्यसम्पादन समितिका सदस्यहरुले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरपालिकाको प्रमुख-उपप्रमुखमा पार्टीको 'स्ट्रेन्थ'अनुसार दाबी राख्न सुझाएका थिए। यसबारेमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले आइतबारका लागि बैठक बोलाएका सहमहामन्त्री महालक्ष्मी उपाध्यायाले बताएकी छन्।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, सदस्यहरु— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, एन.पी. साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाले आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा बोल्ने नेताहरुले तालमेलको निर्णय भइसकेको र यसको निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताएका थिए।