काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारीबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बैठकका लागि ‘महानगर एवम् उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा’ एक मात्र एजेन्डा तय गरिएको र यसै विषयमा छलफल भइरहेको उनले बताए।
गत चैत ३० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समिति’का संयोजक महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’ को प्रारम्भिक मस्यौदामा वैशाख २ गते भित्र प्राप्त सुझाव समावेश गरी अन्तिम रूप दिने निर्णय गरेको थियो।
कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा तालमेल गर्ने बताए पनि कयौं स्थानमा भने तालमेलको सम्भावना भने टर्दै गएको छ। गठबन्धनमा रहेका दलका स्थानीय नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेपछि गठबन्धन समस्यामा परेको हो।