जलजला (रोल्पा)- रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ। सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजना मेला सम्पन्न भएको हो।
मेलामा जलजलासँग जलजला, गीतहरुमा जलजला, गुराँससँग कविता, साँझमा अन्ताक्षरी सांगीतिक कार्यक्रमलगायतका सेसन थिए। जलजलालाई नेपाल सरकारले एक सय पर्यटन गन्तव्यको सूचीमा समावेश गरेको छ।
जलजलासँग जलजला सेसनमा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन बहादुर पुनमगर (कृतिमान) नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका निवर्तमान अध्यक्ष मौसम रोकामगर र परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढामगरले बहस गरेका थिए। नवीन अभिलाषीले कार्यक्रममा सहजीकरण गरेका थिए।
गीतहरुमा जलजला गीति प्रस्तुति कार्यक्रममा जनवादी गायक मोहित श्रेष्ठ र गायिका पवि पुनमगरले जलजलाको सेरेफेरोमा रहेका गीतको प्रस्तुति दिए। कवि विष्णु सन्यासले यो सेसनको सहजीकरण गरेका थिए।