इंग्लिस क्लब लिड्स युनाइटेडका विंगर राफिन्हाले चालू सिजनमा उत्कृष्ट खेलिरहेका छन्। प्रिमियर लिगमा उनले १० गोल र तीनमा 'असिस्ट' गरिसकेका छन्। उनै राफिन्हाले 'द प्लेयर ट्रिब्युन'मा जीवनका १२ महत्त्वपूर्ण घटना सम्झिएका छन्।
१. ज्यान मार्ने धम्की
यो त मसँग कति भयो, कति। हामी खेल सुरु हुनुभन्दा अगाडि कपडा फेर्ने कोठामा हुन्थ्यौँ। कहिलेकाहीँ एक हुल मान्छे आउँथे, ढोका ढकढकाउँथे। ढोका फोर्नै पनि खोज्थे। बाहिरबाट चिच्याउँथे-
'खेल जित्यौँ भने हामी तिमीहरुलाई मार्दिन्छौँ।' 'यहाँबाट जिउँदै फर्किनेवाला छैनौ।'
कुरा वार्जिया टुर्नामेन्टको हो, मजस्ता अस्वीकृतहरुको अड्डा। वार्जिया बुझाउन नै साह्रै गाह्रो छ। ब्राजिलका मान्छेलाई थाहा छ, तर अरुलाई वार्जिया बुझ्न त्यहाँ गएर खेल्नैपर्छ। सबैको सपना कुनै महान क्लबको एकेडेमी छिर्ने, परिवारका लागि केही पैसा कमाउने अनि उत्कृष्ट खेलाडी बन्ने हुन्छ। तर, जो-जो महान क्लब छिर्न सक्दैनन्, ती सब वार्जियामा थुप्रिन्छन्।
बार्जियामा स्थानीय समुदायले स्वतन्त्र रूपमा खेल आयोजना गर्छन्। यस्तो खेल एकेडेमीको भन्दा न्यून स्तरको हुन्छ। खेलाडीलाई कुनै अनुबन्धनको खाँचो पर्दैन। सिधै भित्र छिर्यो, खेल्न थाल्यो।
रापिला घाममा माटोमा खेलिन्छ। गिट्टीबालुवाको केही मतलब छैन। कसैले घरबाट ‘बल’ लिएर आउँछ। अनि त्यहीँ खेल सुरु हुन्छ। अधिकतम समय पोस्टमा जाली हुँदैन। जर्सी, सर्ट, बिब- अहँ। नाङ्गै खेल्छन्।अस्वीकृतहरुको खेल त हो, रिसले चुर भएर खेल्छन्। बाँच्नका लागि खेल्छन्, किनभने उनीहरुको जीवन नै त्यसैमा निर्भर हुन्छ।
धन्न ! मार्ने धम्की चाहिँ धम्कीमै सीमित भए। स्थानीय आफ्नो टोलीको समर्थनको नाममा बाहिरका खेलाडीलाई धम्की दिन्थे। कहिलेकाहिँ दर्शकमाझ बन्दुक ठडिएका पनि देखिन्थे।
त्यसैले मैले सधैँ भन्ने गरेको छु, वार्जियामा खेलेको खेलाडीले जहाँ-कहीँ खेल्न सक्छ।
वार्जियाका अगाडि ठूलो युरोपेली खेल अथवा ९० हजार दर्शक भएको रंगशाला पनि केही होइन। मैले थुप्रै वार्जियाका टुर्नामेन्ट खेलेको छु भन्दा म आफैँलाई गर्व लाग्छ। र साँचो भन्नुपर्दा मलाई वार्जियामा खेल्न रमाइलो पनि लाग्थ्यो, तिनै खेलले मलाई बलियो बनाए।
म चाहान्छु कि मैले सानो गल्ती गर्दा दर्शकले मलाई गिज्याउन्। म खेलमा दबाब चाहन्छु। त्यसले ममा छुट्टै स्फुर्ति ल्याउँछ।
२. दुई परिवार
मेरा दुई वटा परिवार थिए। एउटा घरमा, अर्को बाहिरै। हेर्नुहोस्, जब तपाईं रेस्टिङ्गाजस्तो ठाउँमा हुर्किनुहुन्छ, जुन पोर्टो एलेग्रोको सुकुम्बासी जस्तै बस्ती हो, तब तपाईंलाई थाहा हुन्छ कि एक्लै जीवन कट्ने वाला छैन। साथीहरु नै दोस्रो परिवारजस्तो बन्छन्। ढिलोचाँडो तपाईलाई उनीहरुको सहयोगको खाँचो पर्छ, अनि उनीहरुलाई तपाईंको।
मैले एक अर्कालाई लागू औषध गिरोह र मृत्युबाट बचाउने कुरा गरेको होइन। मैले त साना-तिना कुराहरुमा सहयोगको कुरा गरेको हुँ।
रेष्टिङ्गा सहरी पहुँचबाट बाहिर थियो। कुनै खेलका लागि हामीले बिहान सबेरै निस्कनु पर्थ्यो, फर्कँदा रात पर्थ्यो। खाने मौका पनि मिल्दैन थियो। खेल सकेपछि साथीहरूले केहि खाना बाँडे भने मात्र घर भोकै फर्कन पर्दैन थियो। अरू बेला मसँग यात्रा गर्ने पैसा समेत हुँदैन थियो। खेल्न मन हुँदा-हुँदै पनि जान नपाउँदा म रुन्थेँ। कहिले-कहिले कुनै साथीकी आमाले बसको टिकट काट्दिनुहुन्थ्यो, अनि बल्ल खेल्न पाइन्थ्यो।
हामीसँग भोक हुन्थ्यो, भोजन हुँदैन थियो। बाटामा मान्छेसँग खाना माग्ने स्थितिसम्म हामी भोका हुन्थ्यौँ। सायद हामीलाई कसैले खाना दिन्थे पनि होला, तर समस्या यो थियो कि मान्छेहरू हामीसँग डराउँथे। आफै विचार गर्नुहोस् न, हामी भर्खर खेलेर निस्केका हुन्थ्यौँ, पसिना र हिलोले निथ्रुक्क भिजेका लुगा, शरीर भरी घाउ-चोट। लुट्छौँ नै भन्ने मानसिकता हुन्थ्यो सामान्य मानिसको।
तर कति नमज्जालाग्दो कुरा है? हामी त केवल केहि खानेकुराको स्वादका लागि तड्पिरहेका हुन्थ्यौँ। बिस्कुटको पाप्रो, पाउरोटीको चोइटो, जे भए पनि।
मैले योसँगै अर्को कुरा पनि जोड्नुपर्छ। यसरी सधैँ मैले माग्नु पर्दैनथियो। मेरो परिवार गरिब भए पनि भान्छामा खानाको जोहो गर्नका लागि बुवाआमा धेरै खट्नुहुन्थ्यो। हाम्रो घर पनि सानै थियो। यति सानो कि हामी सबैजना एउटै कोठामा सुत्थ्यौँ। परिवारका ‘मान्छे’ सदस्य मात्र हैन, ‘कुकुर-बिराला’ सदस्य पनि। धन्न, कुकुर-बिराला थिए र घरमा छुट्टै रौनक थियो।
३. सात वर्षको हुँदा म रोनाल्डिन्होको जन्मदिनको भोजमा गएको थिएँ
कसरी? मेरा बुवा साम्बा ब्यान्डमा संगितकार हुनुहुन्थ्यो। अनि उहाँहरुले रोनाल्डिन्होको जन्मदिनको भोजमा प्रस्तुति दिनुभएको थियो।
म हुर्केकै समुदायमा रोनाल्डिन्होको जन्म भएको थियो। त्यसैले मेरा बुवा, काकाहरुले मज्जाले चिन्नुहुन्थ्यो। म सधैँ रोनाल्डिन्हो जस्तै बन्न चाहान्थेँ। उनले खेल्ने शैली, उनी मैदानमा रमाउने बानी, म मन्त्रमुग्ध हुन्थेँ।
यस्तो लाग्थ्यो कि उनले सबैलाई वाचा गर्थे - मलाई बल देउ अनि म तिमीलाई खुसी बनाएरै छाड्छु।
त्यो भोज उनले ठिक्क बार्सिलोनाका लागि खेल्न सुरु गरेपछिको थियो। मलाई उनको त्यो ठुलो घरमा गएको याद छ, जसको मूल ढोकामा उनी स्वयं उपस्थित थिए - सबलाई स्वागत गर्न, अँगालो मार्न। ओठमा त्यो अविस्मरणीय मुस्कान बोकेर, त्यो जादुमयी मुस्कान।
उनले मलाई देख्नासाथ अँगालो हाले, अनि वरिपरि घुमाए। म त अकमकिएँ। के गरौँ कसो गरौँ भयो। तर उनको आकर्षण गर्ने क्षमताले जस्तै फटाहा बच्चालाई पनि पगाल्दिने, हाहा। उनले सबैसँग कुशल व्यवहार गर्छन्। बच्चा होस् या वृद्ध।
मैले मेरो जीवनमा उपस्थित भएका सबै जन्मदिनका ‘पार्टी’ मध्ये सबैभन्दा रमाइलो थियो त्यो पार्टी।
त्यसपछि रोनाल्डिन्होसँग मेरो धेरै पटक भेट भयो। अनि उनीसँगको मित्रता मलाई वरदान जस्तै लाग्छ। यो मित्रता देखेर म सानो छँदा भन्दा अहिले झन् आश्चार्यचकित हुन्छु।
टेलिभिजनमा देखिरहेको मान्छेसँग हिँड्डुल गर्न पाउँदा सपना झैँ लाग्ने रहेछ। उनी मेरो खेल हेर्छन् अनि अझ प्रसंशा समेत गर्छन्, अब यसको प्रतिकृया म कसरी दिउँ उनलाई?
४. म लागुऔषधको अपराधिक दुनियाबाट बचेँ
भाग्यमानी नै भन्नुपर्छ मैले आफूलाई। म १७ वर्षको हुँदासम्म वार्जियामा मात्र खेलेको थिएँ। परिवारको क्षमताभन्दा बढि मैले यात्रामा खर्च गरिरहेको थिएँ। एकेडेमीबाट मासिक भत्ता खाने मेरो उद्देश्य थियो तर त्यो हुन सकेन। त्यहि कारण मसँगै अन्य माध्यमबाट सहजै पैसा कमाउने बाटाहरु खुल्लै थिए।
तर त्यो दुनियामा अलिकति पनि शान्ति छैन। अनि यो म दावाका साथ भन्नसक्छु किनभने मैले धेरै साथीहरु गुमाइसकेको छु। आज तपाईं जीवित हुनुहुन्छ, भोली मृत।
मेरा बुवाआमालाई पनि थाहा थियो। त्यो बाटो अपनाउने सदस्य भएका थुप्रै परिवार थिए मेरो छिमेकमा। अन्त्य कसैको राम्रो भएन। म धन्य छु कि समयमै उपदेश दिने परिवार पाएँ। मेरो समुदायमा एकल अभिभावक हुनु स्वभाविक थियो। बुवा-आमा दुवै भएका साथीहरु गन्ने हो भने मलाई दुई हातका अम्ला पनि चाहिँदैन थियो।
५. म ‘नाई’ हुनसक्थेँ
जति नै बलियो भएपनि कुनै पहलवानको एउटा सीमा हुन्छ। त्यो निश्चित सीमाभन्दा बढि मुक्का खाएपछि ऊ पनि ढल्छ। म १८ वर्षको हुँदासम्म यति धेरै क्लबहरुबाट अस्वीकार बेहोरी सकेको थिएँ कि अहिले बसेर गन्ने हो भने सायद धौ-धौ पर्ला। सबैतिर एक हप्ते निरिक्षण अनि कुनै न कुनै बाहाना।
'धेरै सानो छ।'
'कमजोर छ।'
'बल नै छैन।'
सधैँ उस्तै बाहाना।
१९ लाग्नै लाग्दा म अभाईको २० वर्ष मुनिको टोलीसँग तालिम गर्दैथिएँ। पोर्टो एलेग्रेबाट गाडीमा ६ घण्टा जति टाढाको टोली थियो। अनुबन्धको आशमा म घरबाट त्यति टाढा पहिलो पटक धाएको थिएँ। तर दुर्भाग्यवश, म खेल कै क्रममा घाइते भएँ। अनि फेरि निको भइसक्दा मलाई टीममा सामेल गराइएन। मलाई आफै तालिम गर्न लगाइयो।
अभाईमा मैले सकिँन। घरमा फोन गरेर म फर्कन चाहन्छु भनेँ।
बुवाआमाले हुन्छ भन्नुभयो। आमाले भने 'तर...' मा कुरा अल्झाउनुभयो। अब ‘तर’ पछि के भन्नुहोला त भनेर जान्न म उत्सुक थिएँ।
'तर... तिमीले आफ्नो सपना त्याग्यौ भने कुनै सामान्य जागिरमा अल्झिनुपर्छ,' उहाँले भन्नुभयो।
म सोच्न बाध्य भएँ। म ७ वर्षको हुँदा देखिनै ‘फुटबलर’ बन्ने सपना थियो, त्यसैले मैले आफ्नो पढाइ पनि पूरा गर्न सकिनँ। जसको अर्थ मैले कि सुपरमार्केटमा काम गर्नु पर्ने हुन्थ्यो, कि सैलुन मा वा यस्तै केहि। मलाई त्यसो गर्नुपर्दा जीवन कस्तो हुन्छ भनेर प्रष्टै थाहा थियो किनभने मेरी आमाले पनि कयौँ पटक काम फेर्नुभएको थियो। अन्ततः वहाँले ‘डीग्री’ हासिल गरी आफ्नो जागीर खाइछाड्नु भयो।
उहाँले आफ्नो सपना कहिल्यै त्याग्नु भएन।
उहाँले नै मलाई सम्झाउनु भयो। मेहेनत को फल मिठो हुन्छ भन्नुभयो। अनि आज दुःख गरेमात्र भोलि सुख पाइने कुरा बुझाउनु भयो।
६. मेरा काकाको निर्णय पनि सहि नै थियो
मेरा काका पनि व्यवसायिक फूटबल खेलाडी हुनुहुन्थ्यो। तर घर-परिवार र साथीहरुको न्यास्रो लागेर उहाँले आफ्नो खेल-जीवनको अन्त्य गर्नुभयो। मलाई त्यस्तो गर्न मन छैन तर उहाँलाई त्यस बेला कस्तो भयो होला भनेर मलाई थाहा छ।
आम मानिसहरुका लागि हामी हरेक साता ९० मिनेट गोल खेलाउन मात्र जन्मेका हौँ जस्तो लाग्छ होला। तर हामी पनि मान्छे नै हौँ। हामीमा पनि भावना छ। आफन्तजनबाट टाढिँदा नरमाइलो लाग्छ।
यसरी खेलाडी हुँदा चुकाउनु पर्ने मूल्य ठुलो छ। साथीभाइसँग नजिक रहन पाइँदैन। घरमा बुवाआमा बिरामी हुँदा पनि हेर्न जान पाइँदैन। मेरा कति साथीहरु जेल गए, कतिको मृत्यु भयो। उनीहरुलाई विदा गर्न पनि पाइनँ।
७. ब्रुनो फर्नान्डेज मेरा दाजु हुन्
कमसेकम म चाहिँ उनलाई आफ्नै दाजु मान्छु। स्पोर्टिङमा एउटै टोलीका लागि खेल्न थालेपछि हाम्रो मित्रता सुरु भएको हो। म टोलीमा आएको सुन्नासाथ उनले मसँग खेल्न उत्साहित भएको भन्दै ‘मेसेज’ गरेका थिए। नयाँ टोलीमा कोहि नचिनेको हुँदा गाह्रो हुन्थ्यो होला, तर ब्रुनोको उपस्थितिले मलाई त्यस्तो महसुस हुन दिएन।
उनले मलाई जीवनमा धेरै गुन लाएका छन्। पोर्चुगलमा हुँदा हामी धेरै गफ गर्थ्यौँ। सँगै खाना खान्थ्यौँ। म रेनेस छिर्ने बेला उनले मलाई सल्लाह दिएका थिए। ब्रुनो निकै चलाख व्यक्ति हुन्। यसबेला पनि उनी गलत भएनन्।
उनका वरिपरि हुनु नै प्रेरणाका लागि काफि छ। उनले जे गर्छन्, त्यो गर्न सायदै सम्भव होला तर कोशिस गरे कम्ति उनको नजिकसम्म चाहिँ पुगिन्छ।
८. म थिएरी हेनरीको गोल हेर्दै हुर्केको हुँ
बुवासँग बसेर प्रीमियर लीग हेरिन्थ्यो। हेनरी उडिरहेका हुन्थ्ये। उनको खेल हेर्दा पागल भइन्थ्यो। रंगशाला भरिभराउ-झकिझकाउ हुन्थ्ये। गीत-सँगीत, हो-हल्ला। ठ्याक्कै त याद छैन तर त्यहिँ कतै बसेर मैले वाचा गरेको थिएँ - म पनि कुनै दिन यहाँ खेल्छु।
९. पहिलो पटक बिएल्सालाई भेट्दा उनले मलाई एम्बुसमा पारेका थिए
एक्कासी फुत्त देखापरे उनी! लीड्समा तालिमको मेरो पहिलो दिन थियो तर उनी हामीले तालिम सुरु गरिसकेपछि मात्र देखापरे। म एक्लै बलसँग खेलिरहेको थिएँ, पछाडिबाट कसैले घोच्यो। पछाडि फर्केँ - बिएल्सा रहेछन्।
साँच्चै भन्नुपर्दा म अतालिएको थिएँ। धेरै जनाले, 'ओहो! बिएल्सासँग काम गर्न पाउने भयौ,' भनेर भनेका थिए। उनीसँग काम गर्न पाउनु निकै ठुलो कुरा हो भनेर मलाई थाहा थियो। तर मार्सेलो एकदमै नम्र स्वभावका प्रशिक्षक हुन्। उनले मलाई लीड्समा स्वागत गरे अनि आफू त्यहाँ मेरो सहयोग गर्न उपस्थित भएको बताए। जुन उनले साँच्चै गरे पनि।
मलाई मार्सेलोको एउटा बानी साह्रै मनपर्छ। खेल जसको विरुद्ध भएपनि उनीसँग विजेताको मानसिकता कायम नै रहन्छ।
१०. झन्डै मैले मेरो खुट्टा गुमाउनु पर्यो
एतिहादमा फर्नान्डिन्होको ‘फल’ याद छ? सिजनको अन्त तिर को? मेरो तिघ्रामा साह्रै नमज्जाले चोट लागेको थियो। वार्जियामा खुन नआए फल हुँदैन थियो। त्यहिँको बानीले मैले त्यो चोटलाई खासै वास्ता गरिनँ।
मार्सेलोलाई पनि २-३ दिनमा ठीक हुन्छ भनिदिएँ। तर जब म घर पुगेँ अनि ब्यान्डेज खोलेँ, मेरो खुट्टा सुनिएर अर्को खुट्टाभन्दा दुई गुणा भएको रहेछ। रक्तचाप पनि घटेको थियो। मैले डाक्टरलाई फोन गरेर बोलाएँ। दुखाई यति ज्यादा थियो कि मैले सहनै सकिनँ। हिँड्डुल गर्नै नसक्ने भइसकेको थिएँ म।
भित्री ‘हेमाटोमा’ भन्ने केहि भएको रहेछ। शल्यक्रिया गर्नपर्ने डाक्टरले भने। मैले पहिले कहिल्यै शल्यकृया गरेको थिइन।
केहि दिन मैले बैसाखीको सहारा लिनुपर्यो। ४ पटक अस्पताल धाएर खुट्टाबाट जमेको रगत निकाल्न पर्यो। सबैभन्दा नमिठो त म खेल छुटाउँदै थिएँ। लिभरपुल, म्यानचेस्टर, ब्राइटन, टोटनहमसँग खेल थिए।
तर पनि फाइनल खेल्ने मेरो दाउ थियो। भाग्यवश, चाँडै ठीक भएँ। स्पर्ससँग केहि मिनेट भएपनि खेल्न पाएँ। पीडाले मर्नै लाग्दा पनि खेलिरहेँ। तर अन्तिम खेल थियो, त्यति त सहनै पर्यो।
११. त्यो फ्री किक रोनाल्डिन्होकी आमाप्रति समर्पित थियो
उहाँको मृत्यु भएको केहि दिन मात्र भएको थियो। शोक सभाका लागि ब्राजिल जान सम्भव थिएन। त्यसैले साउथाह्याम्टनसँग खेल्नु अगाडि फूल पठाएको थिएँ। ‘ड्रेसिङ’ कोठामा मलाई एउटा आइडिया आयो - मेरो सर्टमा केहि सन्देश लेख्ने।
'डोना मिगुएलाको मृत आत्माले शान्ति पाओस्, परिवारलाई भगवानले शक्ति दिउन्।'
मैले त्यो दिन गोल हान्छु भन्ने मनमा थियो। अन्त तिर फ्रीकिक पाउँदा म निकै खुसी भएँ, अनि गोल भयो पनि। त्यो गोल हान्दा लाएको सर्ट मैले उनलाई पठाएको थिएँ। उनी साह्रै खुसी भएका थिए रे।
हामीले रेस्टिङ्गा छोडिसक्यौँ तर पुराना नियम अझै लागु हुन्छन् - आफ्नो दोस्रो परिवारको सधैँ ख्याल गर्ने।
१२. मलाई लीड्स मनपर्छ
म यहाँ निकै खुसी छु। सबैले अँगालो मारेर स्वागत गरेका छन्। मालिक, खेलाडी, स्टाफ, प्रशंसक, सबैले। एक जना साथीले मेरा लागि गीत पनि बनाएर पठाए। बुझ्न त सकिँन तर मेरो आफ्नै गीत हुनु भनेको सपना जस्तै नै हो।
– नेपाल समयका विनायक कार्कीले गरेकाे भावानुवाद