काठमाडौँ- संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस भएका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। सरकारले नियुक्तिका लागि सिफारिस गरेपछि समितले छानबिन गर्नका लागि उजुरी दिन आह्वान गरेको हो।
सिमितिले वैशाख १२ भित्र प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। 'नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ वैशाख १२ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यम मार्फत वा सो समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्,' समितिले जारी गरेको सूचनामा उल्लेख छ।
उजुरी दिने व्यक्तिले आफ्नो विवरण खुलाउन नचाहेमा गोप्य राख्नसमेत सकिने उल्लेख गरिएको छ। यसका साथै देशैभरका प्रमुख जिल्ला अधिकारीलाई उजुरी माग गरिएको सम्बन्धी सूचना टाँस गर्नसमेत आग्रह गरेको छ।
संसदीय समितिमा उजुरी प्राप्त भएपछि छानबिन गरी नियुक्तिका लागि सिफारिस गर्नेछ। राष्ट्रपतिले राजदूतहरूलाई नियुक्ति दिने कानुनी व्यवस्था छ।