काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन्।
शुक्रबार लमजुङको घलेगाउँ पुगेका ओलीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे।
उनले एमाले केही समयका लागि मात्रै प्रतिपक्षमा बसेको बताए। घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्न त्यहाँ पुगेका ओलीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना कार्यान्वयन घलेगाउँबाट सुरु भएको पनि बताए।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनले बताए। ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा भनेर जनतालाई सोधे यसो औंला लाउँछन्,’ सूर्यतिर औंला देखाउँदै ओलीले भने।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाइ छ। ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट केमा भनेर जनतालाई सोधेर यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै उनले भने।
ओलीले घलेगाउँको रोधीघरमा गाउने इच्छा पनि व्यक्त गरे। रोधीघर भएको भए रात बस्ने आफ्नो इच्छा रहेको उनले सुनाए। उनले भने, ‘देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले होलान्। रोधीघर बस्न गाह्रो भयो होला। रोधीघर थियो भने मलाई पनि भरे यतै बसौं कि जस्तो पनि लाग्यो। सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो। मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथें।’
ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा उनले गरे।