काठमाडौं– इटालियन फुटबल लिग सिरी ए मा आज राति दुई खेल हुँदैछन्। लिगका शिर्ष दुई टिम एसि मिलान र इन्टर मिलान उपाधिको होडमा कब्जा जमाउन खेल्दै छन्।
नेपाली समयअनुसार राति पौने ११ बजे हुने पहिलो खेलमा दोस्रो स्थानको इन्टर मिलानले १५ औं स्थानको स्पेटसियासँग भिड्दै छ। खेल स्पेटसियाको घरेलु मैदानमा हुनेछ। आजको खेल जिते इन्टर लिगको शिर्ष स्थानमा उक्लिने छ। आजै अर्को खेलमा शिर्ष स्थानको एसी मलानले पनि खेल्दैछ र उसले पनि खेल जितेमा इन्टर केही घण्टाको लागि मात्रै शिर्ष स्थानमा रहने छ।
आजै हुने अर्को खेलमा लिग लिडर एसि मिलानले रेलिगेसनको टिम जेनोवासँग खेल्दै छ। खेल मिलानको घरेलु मैदान सान सिरोमा राति पौने १ बजे हुनेछ। आजको खेल जित्दै मिलान दोस्रो स्थानको इन्टरसँगको अंक दूरी बढाउने लक्ष्यमा रहेको छ।
लिगको अन्तिम चरणमा आइपुग्दा उपाधि जित्नका लागि एसि मिलानलाई बाँकी रहेका सबै खेल जित्न दबाब छ। बाँकी रहेका सबै खेल जितेर अंक तालिकाको शिर्ष स्थान कायम राख्न सके एसि मिलानले उपाधि जित्ने छ।