जनकपुरधाम- वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमाले मधेश कमिटीले निर्वाचन विशेष परिचालन कमिटी गठन गरेको छ।
निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यलाई जिम्मेवारीका साथ कार्य विभाजन गरेर एमालेले मधेश प्रदेशमा विशेष निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ। यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मेवारी दिइएको छ।
यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युतम मैनालीलाई बाराको जिम्मेवारी दिइएको छ। सिरहा सुखीपुर नगरपालिकाका मेयरसमेत रहेका पार्टीका प्रदेश अध्यक्ष यादवले पर्साको जिम्मेवारी सम्हाल्नेछन्।
यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ। रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको एमालेले जनाएको छ।
५०१ सदस्यीय उक्त कमिटीमा प्रदेश सह इन्चार्जहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरु सदस्य रहनेछन्। कमिटीको सदस्य सचिवमा प्रदेश अध्यक्ष यादवलाई राखिएको छ।