काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन्।
पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई-दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए।
'यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ,' उनले भने। कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनले बताए।
भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उनले बताए। उनले भने, ‘जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ।’
स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उनको भनाइ छ।