काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकको बन्द सूचीमा नाम रहेका व्यक्तिहरुलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने बाटो खोल्ने भएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिलाई स्थानीय तहको उम्मेदवार बन्ने बाटो खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।
नेपाली कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले भने, 'कतिपय समानुपातिक सूचीमा बसेका साथीहरू स्थानीय तहमा उम्मेदवार बन्न इच्छा देखाएको हुनाले ऐनमा बन्दसूचीमा नहटी उमेदवार बन्न नपाउने व्यवस्था भएकाले ती आकांक्षीहरूको बन्द सूचीबाट नाम हटाउन कार्यसमितिबाट पारित गरेर निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भयो।'
त्यसैगरी कांग्रेसले वैशाख ३ गतेभित्र स्थानीय तहमा गठबन्धन गर्ने ठाउँमा सम्बन्धित संयन्त्र टुंगो लगाउने र महानगरपालिका र उपमहानगरपालिकालाई केन्द्रले टुंगो लगाउने निर्णय गरेकोसमेत उनले जानकारी दिए।
बैठकमा महामन्त्री गगन थापाले घोषणात्रमा भएका मुल विषयवस्तुबारे जानकारी गराएका थिए। उक्त घोषणापत्रका लागि कार्यसम्पादन समितिमा रहेका सदस्यहरुले आ-आफ्नो सुझावहरू प्रस्तुत गरेको पनि डा. महतले जानकारी दिए।
बैठकले सम्पूर्ण केन्द्रीय सदस्यहरूलाइ महामन्त्रीले प्रस्तुत गरेको विषयवस्तु मेल गर्ने र त्यसबाट सुझाव लिएर घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय कांग्रेसले गरेको छ।