काठमाडौं- आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि एक्लै चुनावी मैदानमा होमिने दाबी गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बुधबार गठबन्धनको सहमति गरेको छ।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई कटाक्ष गर्दै भनेका थिए, ‘के हो यो पाँच दलीय गठबन्धन भन्या , पाँच वटा बाख्रा एक ठाउँमा बस्यो भने पनि भैँसीजस्तो हुँदैनन्।’
उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई पाँच बाख्र र आफ्नो पार्टीलाई भैंसीको तुलना गरेका थिए। उनले यसो बताएको दुई दिनपछि नै एमालेले हिन्दु राज्यको माग गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपालमा क्रिश्चियानिटीको प्रचारक भनेर आलोचित भएका एकनाथ ढकालको नेतृत्वमा रहेको परिवार दलसँग गठबन्धन गर्ने औपचारिक सहमति गरेको छ।
एमालेसँग बुधबार ती दुई दलले अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग-अलगरूपमा भएको सहमतिपत्र आज सार्वजनिक भएको हो।
ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो। निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ।
हिन्दुवादी र क्रिश्चियन प्रचारकको गठजोड
राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि दल त्यागेर नयाँ दल खोलेका कमल थापाले आफूलाई राजाले धोका दिएकोले अब राजा नबोकेर हिन्दु राज्यको एजेण्डामात्रै बोक्ने बताएका थिए। उनले यसअघि भने हिन्दु धर्म र आलंकारिक राजसंस्थाको वकालत गर्दै आएका थिए। तर, नयाँ दल बनाएपछि भने आफूले राजा नबोक्ने सार्वजनिक घोषणा नै गरेका हुन्।
एमालेसँग गठबन्धन गरेका परिवार दलका अध्यक्ष तथा युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुखसमेत रहेका ढकालले क्रिस्चियन धर्मको प्रचार गर्न दक्षिण कोरियाबाट क्रिश्चियन प्रचारकलाई नेपाल ल्याएका थिए।
उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई क्रिश्चियनको प्रचार गराएको आरोप लागेको थियो। विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनले सन् २००५ मा युनिफिकेसन चर्च स्थापना गरेका हुन्। जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी दिएर ईश्वरले आफूलाई धर्तिमा पठाएको बताउने उनले स्थापना गरेको उक्त संस्थाको एक अंगका रुपमा युनिभर्सल पीस फेडरेसनको नेपाल शाखा स्थापना गरिएको थियो।
अर्कोतर्फ एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पशुपतिमा जलहरी लगाउनेदेखि चितवनको ठोरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजको घोषणा गरेका थिए। उनले राम-सीताको मूर्तिसमेत बनाउन लगाएका थिए। यतिमात्र नभएर उनले राम जन्मिएको अयोध्या पनि नेपालमा नै पर्ने दाबी गर्दै विवादित अभिव्यक्ति दिएका थिए।