काठमाडौं- नेपाली कांग्रेस रोल्पाले समग्र पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने चेतावनी दिएको छ। कांग्रेसले मंगलबार जिल्ला पार्टी कार्यालयमा गरेको बृहत् छलफल कार्यक्रमबाट रोल्पाका १० मध्ये ५ वटामा पालिकामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा दावी गर्ने निष्कर्ष निकालेको हो।
यस्तै ७२ वडामध्ये ३६ वडाका अध्यक्षमा आफ्नो पार्टीले दाबी गर्ने उल्लेख गरेको छ। बाँकी ३६ वडामा भने ३ जना सदस्य पाउनुपर्ने कांग्रेसको दाबी छ।
गठबन्धन दलहरुले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एकल रूपमा चुनावमा जाने निष्कर्षमा पुगिएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताए।
‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरुको उपस्थितिमा भएको बृहत अन्तरक्रियात्मक बैठकको सुझाव अनुसार हामी निष्कर्षमा पुगेका हौं,’ सभापति आचार्यले भने, ‘सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ।’
बाँकी ५० प्रतिशत सिट गठबन्धनका दलले भाग लगाउनुपर्ने कांग्रेसको धारणा छ। रोल्पा गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिन्छ। गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा पनि छन्।