काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा सहभागी गराउने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उक्त पार्टीलाई सहभागी गराउने विषयमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यद्यपि यो विषयमा ठोस निर्णय नभएको उनको भनाइ छ।
यसअघि विप्लव पार्टीले आफ्ना कार्यकर्ता तथा नेताहरूविरुद्ध राज्यले लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको थियो। यस्तै केही दिनअघि मात्र उक्त पार्टीले निर्वाचन आयोगसँग पनि छलफल गरेको थियो।
उता प्रमुख प्रतिपक्षी दल एमालेले भने वैशाख ३० को चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै आएको छ। निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको सीमा सकिइसकेको तर विप्लव नेकपाले निर्वाचन आयोग तथा सरकारसँग निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न आग्रह गर्नुले चुनाव सार्ने षड्यन्त्र भएको एमालेको बुझाइ छ।
निर्वाचन आयोगले निर्धारित मितिमा नै चुनाव हुने बताउँदै आएको छ।