पोखरा- पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार मेयर र उपमेयरका आकांक्षीहरूलाई बोलाएर उम्मेदवार हुन चाहनेहरूको नाम मागेको थियो।
दुवै पदका लागि तीन/तीन हजार रूपैयाँको रसिद काटेर आकांक्षीको नाम संकलन गरिएको थियो। जसमा मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाले दाबेदारी प्रस्तुत गरेका थिए।
आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्।
उपमेयरका लागि तीन महिलासहित ११ जनाले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, शुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, देवका पहारी त्रिपाठी, हरिमाया गुरुङ, बैनबहादुर अधिकारी क्षेत्री, सञ्जीवबहादुर कोइराला, वामदेव ढुंगाना र बलराम गायक रहेका छन्।
एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले मंगलबार आकांक्षीहरूको नाम मात्र लिइएको बताए। उनले अन्य आकांक्षीहरू भए भने पनि अब उनीहरूले नाम दर्ता गराउन नपाउने बताएका छन्।
उनका अनुसार बुधबार सहमतिको अधिकतम प्रयास हुनेछ। सहमति नभए बिहीबार लोकतान्त्रिक प्रक्रियाबाट ३/३ जनाको नाम सिफारिस गरिने छ।