मनाङ- बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार मनाङ पुगेका छन्।
असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकन गर्न उनीहरु मनाङ पुगेका हुन्। जिल्लाका विभिन्न स्थानमा पुर्याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ पुगेको बताइएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।
टोलीले मनाङको ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
उनहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।
मस्र्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ। रासस