काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न दलका विषयमा टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व मात्र छानिएको तर नीतिका विषयमा बहस नै नभएको र माओवादीले पदाधिकारी छान्न नसकेको भन्दै ओलीले व्यंग्य गरेका हुन्।
'कांग्रेस अब नीति र विचार होइन। महाधिवेशनमा विचारको कुनै कुरा उठेन। खाली को नेता हुने भन्ने मात्र भयो। पन्ध्रौँ दिनसम्म महाधिवेशन गर्यो कांग्रेसले,' ओलीले थपे, 'देशको विषयमा छलफल भएन। नीतिका विषयमा छलफल भएन। त्यसका कुनै राम्रो काम गर्यो भन्ने अनुभुति भएन। देश जनता विकासका विषयमा चर्चा भएन। शिक्षा, स्वास्थ्य, रोजगारको चर्चा भएन। सत्ता जोगाउने मात्र चर्चा भयो। कठैबरी कांग्रेस! कति मायालाग्दो छ। पछाडि टाँगेको नक्सा बुच्चे छ।'
माओवादी पार्टी प्रचण्डको एकल सोचको उपज भएको उनको भनाइ थियो। त्यसले एकल साँझ जस्तो बनाएको उनको टिप्पणी थियो। 'महाधिवशेन गर्यो माओवादीले। कोही पदाधिकारी छान्न सकेको छैन। एकल सोच छ माओवादीमा। एकल साँझ भन्छन् नि! प्रचण्डको एकल साँझ छ माओवादीमा,' माओवादी महाधिवेशनले पारित गरेको दस्तावेजमाथि टिप्पणी गर्दै ओलीले थपे, 'माओवादीले रुन्चे दस्तावेज प्रस्तुत गर्यो। माओवादी पार्टी रहेन। माओवादी केन्द्र भयो केन्द्र। मतलव केन्द्र छ अरु केही पनि छैन। त्यस्तो पार्टी हुन सक्दैन।'
उनले एकीकृत समाजवादी माधवकुमार नेपालको एउटा गुट मात्र भएको उल्लेख गरे। 'माकुने गुट छ। कांग्रेसको जिउमा बसेका झिँगा धपाउने गुट मात्र,' ओलीले दलको चरित्रचित्रण गरे।
एमाले मात्र देशका समस्या र समाधानका विषयमा छलफल गर्ने पार्टी बनेको उनको दाबी छ।